चेन्नई सुपर किङ्सलाई सहजै हराउँदै कोलकता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को तेस्रो स्थानमा उक्लिएको छ।
बिहिबार कोलकाताले चेन्नईलाई ६ विकेटले हराएको हो।
१ सय ७८ रनको लक्ष्य पछ्याएको कोलकाताले १७.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। उसका लागि शुभम गिल र कप्तान दीनेश कार्तिकले पाँचौं विकेटका लागि अविजित ८३ रनको साझेदारी गर्दै टोलीको जित पक्का गरेका थिए। गिलले३६ बलमा ५७ रन बनाए भने दीनेशले १८ बलमा अविजित ४५ रन जोडे।
ओपनर सुनिल नारिनले ३२ रन तथा क्रिस लेनले १२ रन जोडेका थिए। रिंकु सिंहले १६ रन बनाएका थिए।
चेन्नईका लुग्गी एनगिदी, केएम आसिफ, रविन्द्र जडेजा र हरभजन सिंहले समान १-१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। उसका लागि कप्तान महेन्द्रसिंह धोनीले अविजित ४३ रन जोडे।
चेन्नईका लागि माथिल्लो क्रमका ब्याट्सम्यानले सामूहिक प्रदर्शन गरेका थिए। ओपनर शेन वाट्सन र फा डु प्लिसिसले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए।
वाट्सनले ३६, डु प्लिसिसले २७, सुरेश रैनाले ३२ र अम्बाटी रायडुले २१ रन जोडे । रविन्द्र जडेजाले १२ रन थपे।
कोलकाताका लागि पियुष चाउला र शिवम माभीले समान २-२ र कुलदीप यादवले १ विकेट लिए।
चेन्नईको हारपछि सनराइजर्स हैदराबाद शीर्षस्थानमा उक्लिएको छ। हैदरावाद र चेन्नईको समान १२ अंक छ। कोलकाता र चौथो स्थानको किङ्स ११ पञ्जाबको समान १० अंक छ। आइपिएलमा शुक्रबार शीर्ष स्थानको पञ्जाब र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ।