वेस्ट इन्डिजविरूद्ध क्रिकेटको घर भनेर चिनिने लर्ड्स क्रिकेट मैदान, इंग्ल्याण्डमा खेल्दै नेपाली युवा स्पिनर सन्दिप लामिछानेले अन्तर्राष्ट्रिय टि ट्वान्टीबाट डेब्यू गर्ने सम्भावना छ।
आइसिसिले ट्वान्टी २० अन्तर्राष्ट्रिय मान्यता दिएको खेलमा विश्व एघारको तर्फबाट खेल्न लागेका लामिछानेले प्लेइङ एघारमा मौका पाए डेब्यू गर्नेछन्।
नेपालले सन् २०१४ मा टि२० विश्वकप खेल्दा र त्यसपछि थप २ वर्षको लागि पाएको अस्थाई मान्यताको समयमा खेलेका खेलमा टी २० मान्यता थियो। तर उक्त समयमा लामिछाने नेपाली क्रिकेट टोलीमा थिएनन्।
विश्व ११ टिमको कप्तानी पाकिस्तानका शाहिद अफ्रिदीले गर्नेछन्। यसअघि तोकिएका कप्तान इयान मोर्गान घाइते भएपछि अफ्रिदीलाई कप्तानीको जिम्मेवारी दिइएको छ। यता वेस्ट इन्डिजको टिम विस्फोटक ब्याट्सम्यान तथा अलराउण्डर कार्लोस ब्र्याथवेटको कप्तानीमा मैदानमा उत्रिनेछ ।
सन् २०१६ को अन्त्यतिर आएको आँधीबेहरीका पीडितहरुलाई सहयोगार्थ हुन लागेको विश्व एघार र वेस्ट इन्डिज बिचको खेल नेपाली समयअनुसार राति १० बजेर ४५ मिनेटमा सुरु हुनेछ।
यसअघि इन्डियन प्रिमियर लिगमा सहभागिता जनाएर चर्चा कमाएका लामिछानेलाई प्रतियोगिता खेलिरहेकै समयमा आइसीसीले विश्व एघारको लागि निमन्त्रणा गरेको थियो।
यसअघि बंगलादेशका सुपरस्टार सकिब अल हसनले पनि खेल्ने बताइएको थियो। तर उनले व्यक्तिगत कारणका कारण उपस्थिन हुन नसक्ने बताएपछि नेपालका युवा स्टार सन्दीप लामिछानेले मौका पाएका हुन्।
विश्व एघार टिमका लागि १३ जना खेलाडी छानिएका छन्। टिममा बंगलादेशका तिमिम एकबाल, साम बलिङ्ग्स, दिनेश कार्तिक, लुक रोची, सोएब मलिक, शाहिद अफ्रिदी र थिसारा परेरा जस्ता विश्व प्रसिद्ध खेलाडी छन्।
कार्तिक, रोची र बिलिङ्ग्स जस्ता तीन जना विकेटकिपर टिममा अटाएका छन्। मिचेल म्याकिनघन, साम कुरान, टाइमल मिल्सले टोलीका लागि तीब्र गतिको बलिङ सम्हाल्नेछन्।
यस्तै स्पिन बलिङतर्फ अफगानिस्तानका रासिद खान, इंग्ल्यान्डका अदिल रसिद र नेपालका सन्दीप लामिछाने छन्। कप्तान अफ्रिदी पनि स्पिन बलिङ गर्न सक्छन्।
यसअर्थमा १३ मध्ये पहिलो रोजाइको ११ खेलाडी छान्न अफ्रिदीलाई केही गाह्रो हुने देखिन्छ। यसैबीच सन्दीप लामिछानेले अफगानीस्तानका राशिद र इङ्ल्याण्डका अदिलसँग प्रतिस्पर्धा गर्नु पर्ने देखिन्छ।