विभागीय टिम त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मुलपानी क्रिकेट मैदानमा आइतबार प्रदेश नम्बर ४ लाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै आर्मी अन्तिम चारमा प्रवेश गरेको छ।
समूह ए को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले २९ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७६ रनमा समेटियो। उसका लागि अनिल गुरूङले ४२ रन बनाउँदा बाँकि खेलाडी सस्तैमा आउट भए। प्रदेश ४ का ६ खेलाडीले कुनै पनि रन बनाउन सकेनन्। प्रदेश ४ लाई सस्तैमा रोक्न विक्रम सोब, साहव आलम र सागर पुनले समान ३–३ विकेट लिए।
७७ रनको झिनो लक्ष्य पाएको आर्मी १६.४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। उसका लागि सागर पुनले २६ तथा अनिल मण्डलले २८ र नरेश बुढाऐरले १० रनको योगदान दिए।
योसँगै आर्मीले खेलेका तीनै खेलमा स्पस्ट जित निकाल्दै ६ अंक लिएर सेमिफाइनलमा प्रवेश गरेको हो।
यस्तै त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा प्रदेश ५ ले प्रदेश ६ लाई नौ विकेटले हरायो।
टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ६ले निर्धारित ५० ओभरको खेलमा २२.५ ओभरमा अलआउट हुँदै ५५ रन मात्र बनाउन सक्यो। उसका लागि विजय विष्टले १७ रन बनाउनु बाहेक कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन्।
प्रदेश ६ लाई सस्तैमा रोक्न ५ का शक्ति गौचन र विक्रम भुषालले तीन-तीन विकेट हात पारे।
जवाफमा प्रदेश ५ ले १० ओभरमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। उसको जितमा शंकर रानाले २९ तथा सन्दिप सुनारले २७ रन तथा सुवेन्दु पाण्डेले १ रन बनाए। प्रदेश ६ का टेक सलामीले १ विकेट लिए।