पाकिस्तानमा आगामी सेप्टेम्बरमा एसिया कप आयोजना गर्ने कार्यक्रम छ। प्रतियोगितामा पाकिस्तानसहित भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान र एसिसी प्रिमियर कप विजेताबीच प्रतिस्पर्धा हुने तय छ। नेपालमा जारी प्रिमियर कपको फाइनलमा घरेलु टिम र युएईबीच प्रतिस्पर्धा छ।
भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण भारतले प्रतियोगितामा आफ्नो टोली पाकिस्तान पठाउन अस्वीकार गरेको छ।
पाकिस्तानले एसियाली क्रिकेट काउन्सिल (एसिसी)को बैठकमा एसिया कपका लागि हाइब्रिड मोडल प्रस्तुत गरेको थियो, जसअन्तर्गत अन्य टोलीले पाकिस्तानमा खेल्नेछन् भने भारतीय टोलीले अर्को देशमा प्रस्ताव थियो।
गत महिना पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठीले हाइब्रिड मोडल प्रस्तुत गर्दा एसिसीका अध्यक्ष जय शाहले पनि उक्त मोडलमा चासो देखाएका थिए। तर भारत फर्किएपछि उनले त्यसको विरोध गरेका थिए।
दुई साताअघि शाहले एसिया कपको स्थल टुंगो लगाउन काउन्सिलले अन्य सहभागी देशको सुझावको प्रतीक्षा गरिरहेको बताएका थिए।
‘हामी २०२३ को एसिया कपको लागि स्थान र भारत-पाकिस्तान खेलको बारेमा स्पष्टतालाई अन्तिम रूप दिन अन्य राष्ट्रहरूको प्रतिक्रियाको पर्खाइमा छौं.’ शाहले एक मिडिया अन्तर्क्रियामा भनेका थिए।
पाकिस्तान क्रिकेटले स्रोतलाई उधृत गर्दै लेखेको समाचार अनुसार पाकिस्तान क्रिकेट बोर्ड हाइब्रिड मोडलको विषयमा आफ्नो अडानमा अडिग रह्यो भने यो वर्ष एसिया कप नहुन सक्छ र त्यसका लागि पाकिस्तान तयार छ।
सम्पूर्ण खेल अर्को देशमा आयोजना गर्ने सम्भावनालाई पाकिस्तान क्रिकेट बोर्डले अस्वीकार गरेको छ।
श्रीलंका र बंगलादेशका क्रिकेट बोर्डहरूले भर्खरै पाकिस्तानलाई तटस्थ स्थानमा एशिया कप आयोजना गर्न मनाउन अनौपचारिक प्रयास गरे पनि असफल भएको थियो।
श्रीलंकाले आफ्नो देशमा प्रतियोगिता आयोजना गर्न चाहेको छ र युएई पनि एसिया कप फेरि आयोजना गर्न तयार छ।
तर पाकिस्तान क्रिकेट बोर्डले अहिले नै यो समस्या समाधान नभए भविष्यमा पनि समस्या रहिरहने र आयोजना गर्न पनि कठिनाइ हुन सक्ने बताएको छ।
अर्कोतर्फ बिसीसीआई पनि एसिया कप रद्द गर्ने तयारीमा छ। एसिया कप रद्द भएपछि खाली भएको विन्डोमा पाँच राष्ट्रको प्रतियोगिता गर्ने योजना बिसिसिआईको छ।
एसिया कपका बारेमा केही दिनमै ठूलो निर्णय हुने अपेक्षा गरिएको छ। यदि यो वर्ष एसिया कप पाकिस्तानमा हुन सकेन भने यसले भारतमा हुने २०२३ को विश्वकपको तयारीमा पनि असर पार्न सक्छ।