असोज दोस्रो साता युएईको शारजाहमा हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० सिरिज जेनजी आन्दोलनमा निधन भएकाप्रति समर्पित गरिने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले यो सिरिजको नाम युनिटी कप समेत दिएको छ।
क्यानले सिरिजले सबैलाई एकजुट गर्दै बलियो सम्बन्ध स्थापना गर्ने उद्देश्य राख्नका लागि सिरिज महत्वपूर्ण हुने विश्वास गरेको छ।
‘सिरिज हामी गत साता असामान्य परिस्थिति र परिणामका कारण ज्यान गुमाएका सबैप्रति समर्पित गर्छौं। नेपालले वेस्ट इन्डिजविरुद्धको यो ऐतिहासिक टी-२० सिरिजले एकताको सन्देश विश्वसामु प्रस्तुत गर्नेछ,’ क्यानको भनाइ छ।
सिरिजका खेलहरू आगामी असोज ११, १३ र १४ गते हुँदैछ। नेपालले पहिलो पटक आइसिसीको पूर्ण सदस्यसँग टी-२० सिरिज खेल्न लागेको हो।
ओमानमा हुने टी-२० विश्वकप छनोटको तयारीका लागि नेपालले दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग सिरिज खेल्न लागेको हो।
वेस्ट इन्डिजसँग सिरिज खेले लगत्तै नेपाली टोली त्यतैबाट विश्वकप छनोट खेल्न ओमान जानेछ। ओमानमा नौ टोलीबीच हुने छनोटमा शीर्ष तीन टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुनेछ।