युएईमा भइरहेको एसिया कप टी-२० क्रिकेट प्रतियोगितामा भारतविरूद्धको बहुप्रतिक्षित प्रतिस्पर्धामा पाकिस्तानले सामान्य ब्याटिङ गरेको छ।
दुबईमा आइतबार राति टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ९ विकेटको क्षतिमा १२७ रन बनाएपछि भारतले १२८ रनको सामान्य लक्ष्य पाएको छ।
पाकिस्तानका लागि अन्तिम ओभरमा हार्दिक पाण्ड्यालाई दुई छक्का प्रहार गरेका शाहीन शाह अफ्रिदीले १६ बलमा नटआउट ३३ रन बनाए। उनले कुल ४ छक्का प्रहार गरेका थिए।
यस्तै ओपनिङ ब्याटर शहिबजादा फरहानले ४४ बलमा ४० रन बनाउँदा अरु ब्याटरले उल्लेख रन बटुल्न सकेनन्।
इनिङग्सलाई प्राय: आफ्नो नियन्त्रणमा लिएको भारतका लागि कुलदिप यादवले ३ विकेट लिए भने अक्षर पटेलले २ विकेट हात पारे। स्पिनर चले पनि सुरुवाती विकेट लिएका हार्दिक पाण्ड्याले १ विकेट र जसप्रित बुमराहले २ विकेट आफ्नो नाममा लेखाए।
एसिया कपमा दुवै टोलीले यसअघि पहिलो खेलमा जित निकालेका थिए। समूह ‘ए’ मा रहेका भारतले युएई र पाकिस्तानले ओमानलाई पराजित गरेका थिए।