एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको वर्षाका कारण रोकिएको फाइनल खेल आज हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो।
आज ९ बजे यहि स्थितिबाट खेल सुरु हुनेछ। २७.२ र २७.३ ओभरमा विकेट लिएका नेपालका ललितनारायण राजवंशीलाई ह्याट्रिकको अवसर हुनेछ।
ब्याटिङमा युएईका कार्तिक मेयाप्पन र जुनाइद सिद्धिकी हुनेछन्। अहिले कीर्तिपुर मैदानमा घाम लागेको छैन। तर मैदानको पानी हटाइएको छ। खेलाडीहरु अभ्यास गरिरहेका छन्।
मौसम पूर्वानुमानअनुसार कीर्तिपुर मैदानमा ठूलो वर्षाको सम्भावना छैन।
आजको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाइनेछ। ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ।
सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्नेछ। यस्तो अवस्थामा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ भने एसिया कपमा छनोट हुनेछ।
एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ।
सोमबार युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन जोडे। उनलाई आठौं विकेटको रुपमा नेपालका ललितनारायण राजवंशीले आरिफ शेखबाट क्याच गराए। लगत्तै अर्को बेलमा ललितले जहूर खानलाई शून्यमा आउट गरे।
सन्दीप लामिछानले युएईका आयन खानलाई ५ रनमा कुशल मल्लबाट क्याच गराए। त्यसअघि गुल्सन झाले युएईका बासिल हामिदलाई १० रनमा बोल्ड गरे।
युएईका ओपनरद्वय मोहमद वासीम ११ रन र आर्यन लक्रा १३ रनमा आउट भए। वासीमलाई सोमपाल कामी र आर्यनलाई करण केसीले आउट गरे।
यस्तै वृत्य अरिवन्द ८ रन र रमिज शाहजाद १ रनमा आउट भए। वृत्यलाई करण र रमिजलाई ललितनारायण राजवंशीले आउट गरे। रोहान मुस्ताफालाई २ रनमा सन्दीपले आउट गरे।
नेपालका लागि ललितले ३ विकेट लिएका छन्। सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १-१ विकेट लिइसकेका छन्।