एसिसी प्रिमियर कपअन्तर्गत युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको छ।
नेपालका कुशल भुर्तेललाई १.२ ओभरमा युएईका रोहान मुस्ताफाले १ रनमा एलबिडब्लूको धरापमा पारेका छन्।
युएई ११७ रनमा मा अलआउट
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिदा मंगलबारसम्मका लागि स्थगित भएको थियो।
मंगलबार २७.३ बाट ब्याटिङ सुरु गरेको युएई ३३.१ ओभरमा ११७ रनमा अलआउट भयो। मंगलबार अन्तिम विकेटको रुपमा युएईका जुनइद शिद्धिकीलाई १० रनमा नेपालका ललितनारायण राजवंशीले कुशल भुर्तेलबाट क्याच गराए।
सोमबार युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन जोडे। उनलाई आठौं विकेटको रुपमा नेपालका ललितले आरिफ शेखबाट क्याच गराए। लगत्तै अर्को बलमा ललितले जहूर खानलाई शून्यमा आउट गरे।
त्यसअघि सन्दीप लामिछानेले युएईका आयन खानलाई ५ रनमा कुशल मल्लबाट क्याच गराए। त्यसअघि गुल्सन झाले युएईका बासिल हामिदलाई १० रनमा बोल्ड गरे।
युएईका ओपनरद्वय मोहमद वासीम ११ रन र आर्यन लक्रा १३ रनमा आउट भए। वासीमलाई सोमपाल कामी र आर्यनलाई करण केसीले आउट गरे।
यस्तै वृत्य अरिवन्द ८ रन र रमिज शाहजाद १ रनमा आउट भए। वृत्यलाई करण र रमिजलाई ललितनारायण राजवंशीले आउट गरे। रोहान मुस्ताफालाई २ रनमा सन्दीपले आउट गरे।
नेपालका लागि ललितले ४ विकेट लिएका छन्। उनले ७.१ ओभरमा २ मेडन राख्दा १४ रन खर्चिए। सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १-१ विकेट हात पारे।
आजको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाइनेछ। ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ।
सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्नेछ। यस्तो अवस्थामा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ भने एसिया कपमा छनोट हुनेछ।
एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ।