नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाईले एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिने भए पनि त्यसका लागि आफू उत्साहित भएको बताएका छन्।
‘एसिया कपको एक समूहमा भारत, नेपाल र पाकिस्तान प्रतिस्पर्धा गर्ने कुरा नयाँ सुनिन्छ। तर यसका लागि हामी उत्साहित छौं,’ उनले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले पराजित गरेपछि भने।
प्रशिक्षक देसाईले नेपाली टिमले एसिया कपसम्मको यात्रा गर्न धेरै मेहनत गरेको पनि बताए।
पछिल्लो दुई महिनामा उत्कृष्ट लयमा रहेको नेपालले लगातार १० खेलमा जित हात पारेको छ। आइसिसी विश्वकप लिग-२ को पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल विश्वकप छनोटमा पुगेको थियो।
आगामी जुनमा जिम्बावेमा हुने विश्वकप छनोटमा नेपालसहित वेस्ट इन्डिज र श्रीलंकासहित १० टिमले खेल्दैछन्।
विश्वकप छनोटपछि नेपालले एसिया कप खेल्नेछ।
लगातार १० खेलमा जित निकाल्दा नेपाली टिममा अभूतपूर्ण एकता देखिएको छ भने टिमले उत्कृष्ट प्रदर्शन गरेको छ।
प्रशिक्षक देसाई नेपालले पछिल्लो दुई महिनामा खेलेका हरेक खेलमा नयाँ अनुभव पाएको र त्यो अनुभवबाट अघि बढेको बताए।
‘हामीले पछिल्लो दुई महिनामा खेलेका हरेक खेलमा नयाँ अनुभव बटुल्यौं,’ देसाईले भने, ‘त्यो अनुभवबाट हामीले के सिक्यौं भन्ने महत्वपूर्ण रह्यो।’
उनले नेपाली खेलाडीहरूको प्रशंसा गरे।
‘नेपाली टिमका सबै खेलाडी आ-आफ्ना कथा लेख्न तयार छन्। सबै जना आफूले गर्ने कुरामा स्पष्ट छन्,’ उनले भने, ‘हामीले कडा मेहनत गरिरहेका छन्। दिनदिनै टिमको विकास भइरहेको छ। मेरा खेलाडीप्रति धेरै गर्व छ।’
तीन महिनाअघि नेपाली टिमको प्रशिक्षक नियुक्त भएका देसाईले नेपाली क्रिकेटमा दर्शकको ठूलो भूमिका रहेको पनि बताए।
‘हामीले हिजो टस जितेर फिल्डिङ रोज्यौं। हाम्रो योजनाअनुसार खेल्यौं। पानीले खेल रोकेर अनिश्चित हुँदा पनि दर्शकहरू छाता ओठेर खेल कुरिरहे,’ उनले भने।
उनले खेलाडीहरूलाई दबाबभन्दा पनि खेलमा इन्जोए गर्न दिनु पर्ने बताए।
उनले भने, ‘हामीले खेलाडीलाई खेलमा इन्जोए गर्न दिनुपर्छ। अनि मात्र उनीहरूले आफ्नो शतप्रतिशत दिएर खेल्न सक्छन्। खेलेर कति उपलब्धि भयो भन्नेतर्फ लाग्नुहुन्छ।‘