लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुल खुट्टाको चोटका कारण आइपिएलबाट बाहिरिएका छन्।
चोटका कारण अष्ट्रेलियाविरुद्ध जुन ७ बाट ओभलमा हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा उनको सहभागितामा पनि शंका उत्पन्न भएको छ।
सोमबार रोयल च्यालेन्जर्स बैंगलोर विरुद्धको खेलमा राहुलको दाँहिने खुट्टाको चोट लागेको थियो।
दोस्रो ओभरमै चोट लागेपछि ३१ वर्षीय ब्याट्सम्यानले ११ नम्बरमा ब्याटिङ गर्ने आसाले मैदान छाडेका थिए। तर उनी कुद्न नसक्ने भएका कारण अमित मिश्राले अन्तिम ओभर ब्याटिङ गर्न परेको थियो।
खेलमा लखनउ १८ रनले पराजित भयो। खेलपछि विराट कोहली र गौतम गम्भीर विवाद भएको थियो। विवादमा राहुलले दुवैलाई सम्झाएका थिए।
सुपर जायन्ट्स १० खेलबाट पाँच जितसहित आइपिएल अंक तालिकाको दोस्रो स्थानमा छ।
अब टिमको कप्तान क्रुणाल पाण्ड्या हुनेछन्। उनले चेन्नई सुपर किंग्स विरुद्ध एक खेलमा टोलीको नेतृत्व गरिसकेका छन्।
यो चोटले राहुलको लगातार छैटौं आइपिएलमा ५०० भन्दा बढी रन बनाउने लक्ष्यमा धक्का पुगेको छ। उनले यसपटक २२६ रन बनाएका थिए।