आइपिएल २०२३ मा शीर्ष स्थानको गुजरात टाइटन्सले लखनउ सुपरजायन्टलाई पराजित गरेको छ।
आइतबार भएको खेलमा गुजरातले ५६ रनको जित हात पारेको हो।
पहिले ब्याटिङ गरेको गुजरातले २ विकेटको क्षतिमा २२७ रन जोड्यो। उसका लागि ओपनरद्वय ऋद्धिमान साहले ८१ रन र शुभमन गिलले ९४ रन जोडे। साहले ४३ बलमा १० चौका र ४ छक्का तथा गिलले ५१ बलमा २ चौका र ७ छक्का हिर्काए।
दुईबीच पहिलो विकेटका लागि १२.१ ओभरमा १४२ रनको साझेदारी भयो।
२२८ रनको लक्ष्य पछ्याएको लखनउले ७ विकेटको क्षतिमा १७१ रन जोड्यो। क्वान्टन डि ककले ७० रन र केल मेयर्सले ४८ रन जोड्दा लखनउको राम्रो सुरुवात भएको थियो। तर त्यसपछि लगातार विकेट गयो।
बलिङमा गुजरातका मोहित शर्माले ४ विकेट लिए।
जितसँगै शीर्ष स्थानको गुजरातको ११ खेलबाट १६ अंक भयो। लखनउ ११ अंकसहित तेस्रो स्थानमा छ।