एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले पाकिस्तानबाट प्रतियोगिता सार्ने तयारी गरेसँगै आगामी एसिया कप श्रीलंकाले आयोजना गर्ने सम्भावना बढेको छ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) का सचिव समेत रहेका एसिसीका अध्यक्ष जय शाहले भारतीय टोलीले पाकिस्तान भ्रमण नगर्ने बताएदेखि नै पाकिस्तानमा एसिया कप हुनेमा शंका बढेको थियो।
आगामी सेप्टेम्बरमा हुने प्रतियोगितामा भारत र पाकिस्तानसँगै श्रीलंका, बंगलादेश र अफगानिस्तनले भाग लिँदैछन्। नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको थियो। एक समूहमा भारत र पाकिस्तानसँगै नेपालले प्रतिस्पर्धा गर्दा अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।
भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण भारतले प्रतियोगितामा आफ्नो टोली पाकिस्तान पठाउन अस्वीकार गरेको छ।
बंगलादेश र अफगानिस्तानले श्रीलंकामा प्रतियोगिता आयोजना गर्ने कदमलाई समर्थन गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रतियोगिताको लागि स्थानको अन्तिम निर्णय यसै महिनाको अन्त्यमा हुने अपेक्षा गरिएको छ।
पाकिस्तानले प्रतियोगिता बहिष्कार गर्न सक्ने संकेत गरेपछि अहिलेसम्म प्रतियोगितामा पाकिस्तानको सहभागिता अस्पष्ट छ।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले प्रतियोगिता पाकिस्तानमै गर्न जोड दिइरहेको छ।
बिसिसिआईले सरकारबाट अनुमति नभएको भन्दै प्रतियोगिताको लागि पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि पिसिबीले एसिया कप आयोजना गर्न हाइब्रिड मोडल प्रस्ताव गरेको थियो। जुन मोडनअनुसार भारतका खेलहरू मात्र दुबईमा आयोजना हुनेछन्। तर यो मोडललाई भारतले चासो दिएको छैन।
एसिसी सदस्यहरुको भर्खरै भएको अनौपचारिक बैठकमा ओमानले पनि प्रतियोगिता आयोजना गर्न प्रस्ताव गरेको बुझिएको छ। तर ओमान र दुबईमा हुने गर्मीका कारण श्रीलंकालाई उचित स्थल मानिएको छ।
यदि पाकिस्तानमा एसिया कप हुन नसके आगामी विश्वकपमा कस्तो प्रभाव पार्छ त्यो हेर्न बाँकी छ। पाकिस्तानमा एसिया कप हुन नसके अक्टोबर-नोभेम्बरमा भारतमा आयोजना हुने विश्वकपमा पनि उनीहरूको सहभागितामा प्रश्नचिन्ह खडा गर्नेछ।