आइपिएल २०२३ मा चेन्नई सुपरकिंग्सले दिल्ली क्यापिटल्समाथि सहज जित हात पारेको छ। बुधबार चेन्नईमा भएको खेलमा घरेलु टिम २७ रनले विजयी भयो।
चेन्नईले दिएको १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १४० रन मात्र जोड्न सक्यो।
जितसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको चेन्नईले १२ खेलबाट १५ अंक जोड्यो। शीर्ष स्थानको गुजरातको १६ अंक छ भने पुछारको दिल्लीको ८ अंक मात्र छ।
दिल्लीका ओपनर तथा कप्तान डेभिड वार्नर दिपक चहारको दोस्रो बलमै शून्यमा आउट भए। त्यसपछि मनिष पाण्डेले २७ रन जोड्दा रिली रस्सोले ३५ रन बनाए।
बलिङमा चेन्नईका मथिशा पाथिरनाले ३ विकेट तथा दिपक चहारले २ विकेट लिए। रविन्द्र जडेजाले १ विकेट हात पारे।
त्यसअघि घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले ८ विकेटको क्षतिमा १६७ रन जोड्यो।
चेन्नईका लागि शिवम् दुवेले सबैभन्दा बढी २५ रन जोडे। उनले १२ बलमा ३ छक्का हिर्काए। ओपनर रुतुराज गायकवाड २४ रन, अजिन्का राहाणे २१ रन, अम्बाती रायणु २३ रन, रविन्द्र जडेजा २१ रन र महेन्द्रसिंह धोनी २० रनमा आउट भए।
बलिङमा दिल्लीका मिचेल मार्चले ३ विकेट र अक्षर पटेलले २ विकेट लिए।