जिम्बावेमा आगामी जुन-जुलाईमा हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताअघि वेस्ट इन्डिजले युएईसँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने भएको छ।
विश्वकप छनोटको तयारीस्वरूप हुने सिरिज हुन लागेको हो। वेस्ट इन्डिजले युएईसँग पहिलोपटक एकदिवसीय सिरिज खेल्न लागेको हो।
दुई पटकको विश्वकप च्याम्पियन वेस्ट इन्डिज क्रिकेट विश्वकप सुपर लिगबाट विश्वकपमा स्वत: छनोट हुन नसकेपछि विश्वकप छनोट प्रतियोगितामा धकेलिएको थियो।
त्यसैले जिम्बावे जुन-जुलाईमा हुने विश्वकप छनोटको शीर्ष दुईमा पुगेर वेस्ट इन्डिज २०२३ को अक्टोबर-नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुने लक्ष्यमा हुनेछ।
युएईले भर्खरै भएको आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफमा विश्वकप छनोटमा स्थान बनाएको थियो।
वेस्ट इन्डिज क्रिकेटका निर्देशक जिमी एडम्सले तीन खेलको सिरिजले छनोट प्रतियोगिताअघि आफ्नो टोलीले उत्कृष्ट तयारी प्रदान गर्ने र आगामी वर्षमा एमिरेट्स क्रिकेट बोर्डसँग काम गर्न उत्सुक बताएका छन्।
‘यो युएईविरुद्धको हाम्रो पहिलो भ्रमण हो र हामी यस ऐतिहासिक तीन खेलको एकदिवसीय सिरिज खेल्न पाउँदा खुसी छौं। किनभने यसले हाम्रा खेलाडीलाई क्रिकेट विश्वकप छनोटअघि तयारी गर्ने राम्रो अवसर प्रदान गर्नेछ,’ एडम्सले भने, ‘यसले जिम्बावे नगएका खेलाडीलाई विदेशी परिस्थितिमा अन्तर्राष्ट्रिय स्तरमा अनुभव दिनेछ।’
सबै तीन खेल शारजाह क्रिकेट रंगशालामा हुनेछन्, त्यसपछि दुबै टोली जुन १८ बाट सुरु हुने छनोट प्रतियोगितामा भाग लिन जिम्बावे जानेछन्।
खेल तालिका:
जुन ५ – युएई भर्सेस वेस्ट इन्डिज, शारजाह क्रिकेट रंगशाला
जुन ७ – युएई भर्सेस वेस्ट इन्डिज, शारजाह क्रिकेट रंगशाला
जुन ९ – युएई भर्सेस वेस्ट इन्डिज, शारजाह क्रिकेट रंगशाला
नेपाल पनि भिड्दै
क्रिकेट विश्वकप छनोट खेल्ने १० टोली: वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे (आयोजक), आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका, युएई।
सुपर लिग तालिकाको अन्तिम दुईमा रहेपछि जिम्बावे र नेदरल्याण्ड्स विश्वकप छनोटमा पुगेका थिए। वेस्ट इन्डिज, श्रीलंका र आयरल्यान्ड सुपर लिगको नवौं, दशौ र एघारौं स्थानमा रहदा छनोट खेल्न बाध्य भए।
स्कटल्यान्ड, ओमान र नेपालले लिग २ को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गरेका थिए।
नेपालले लिग-२ का अन्तिम १२ मध्ये ११ खेल जित्दै विश्वकप छनोटमा स्थान पक्का गरेको थियो।
लिग-२ मा निराशाजनक प्रदर्शनपछि अमेरिका र युएई विश्वकप क्वालिफायर प्लेअफबाट छनोट भएका हुन्।
१० टिमको विश्वकप छनोटबाट दुई टिम विश्वकपमा पुग्नेछन्।
सुपर सिक्सको शीर्ष दुईमा परे विश्वकपमा पुग्ने
विश्वकप छनोटमा पुगेका १० टिमलाई सुरुमा दुई समूहमा विभाजन गरिनेछ। पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्।
सुपर सिक्समा ६ टिमले एक आपसमा भिड्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।