आइपिएल २०२३ अन्तर्गत राजस्थान रोयल्सले कोलकता नाइटराइडर्समाथि ९ विकेटको जित निकाल्यो।
कोलकताले दिएको १५० रनको लक्ष्य राजस्थानले १३.१ ओभरमै पूरा गर्यो। सहज जित निकालेको राजस्थानका लागि यशस्वी जैसवालले कीर्तिमानी ब्याटिङ गरे।
२१ वर्षीय युवा ब्याट्सम्यान जैसवालले ४७ बलमा नटआउट ९८ रन जोडे। उनले १२ चौका र ५ छक्का प्रहार गरे।
उनले आइपिएलमा छिटो अर्धशतक प्रहार गर्ने क्रममा १३ बलमा अर्धशतक पूरा गरे। तेस्रो ओभरको पाँचौ बलमै उनले अर्धशतक पूरा गरेका थिए। उनले अर्धशतक पूरा गर्ने क्रममा ६ चौका र ३ छक्का प्रहार गरे।
जैसवालले पहिलो ओभरमै कोलकताका नितिश रानालाई २६ रन प्रहार गरेका थिए। पहिलो ओभरमा उनले २ छक्का र ३ चौका प्रहार गरे।
जैसवालले तीन वर्षअघि आइपिएलमा डेब्यू गरेका थिए। उनले ५५ टी-२० खेल खेल्दा १ शतक र ८ अर्धशतक प्रहार गरिसकेका छन्।
उनले तीन वर्षअघि राजस्थानबाट सुपरकिंग्स विरुद्धको खेलमा डेब्यू गरेका थिए।
तीन वर्षको बीचमा आफ्नो क्षमता देखाएका जैसवालको बाल्यकाल भने अभाव नै अभावले बितेको थियो।
व्यवसायिक क्रिकेटर बन्ने सपना देख्दै उनले उत्तर प्रदेशको ग्रामिण इलाकामा रहेको आफ्नो घर १० वर्षको उमेरमा छाडेका थिए। त्यतिबेला उनीसँग केही थिएन, थियो त केवल क्रिकेटर बन्ने सपना।
'म भारतमा क्रिकेट खेल्न चाहन्थे। तर गाउँमा अवसर पाउन सजिलो थिएन,' जैसवालले टेस्ट म्याच स्पेसलको आइपिएल पडकास्टमा कुराकानी गर्दै भनेका थिए, 'मेरा सिनियरले क्रिकेट खेल्नका लागि मुम्बई जान सल्लाह दिएका थिए। जुन कुरा मेरो दिमाखमा खेलिरहन्थ्यो। जब सुत्थे त्यही कुरा सम्झन्थे। त्यसैले एक दिन आमालाई मुम्बई जान चाहेको कुरा बताए।'
१० वर्षे फुच्चेले मुम्बई जस्तो घना बस्ती भएको शहरमा एक्लै संर्घष गर्ने आँट गर्नु सानो कुरा होइन।
मुम्बईमा जति दु:ख पनि उनले कहिल्यै हार मानेनन्। दु:खका पहाड उचाले तर, हार मानेर घर फर्कने सोच कहिल्यै बनाएनन्।
उनले क्रिकेटमा लागेर केही सिक्ने र अवसर पाउने लक्ष्यका साथ सन् २०११ देखि चार वर्ष मुम्बईमा सडकमा दैनिकी गुजारे।
उनी दिनभर आजाद मैदानमा एक्लै अभ्यास गरिरहे।
त्यतिबेला उनलाई खाना बस्नका लागि निकै समस्या पर्थ्यो। आर्थिक अवस्था सहज नभएपछि उनी दिउँसो डेरीमा काम गर्थे।
'राती पनि डेरीमा बस्न चाहन्थेँ। त्यतिबेलासम्म म एक्लै थिएँ। त्यो समय मेरा लागि निकै गाह्रो थियो,' जैसवाल सम्झिन्छन्, 'एक दिन मैले मेरो प्रशिक्षकसँग बास बस्न दिन अनुरोध गरे। दुई–तीन महिना त्यहाँ बसेँ।'
त्यसपछि पनि उनको दु:ख सकिएनन्। बस्ने ठाउँकै समस्याले सताउन थाल्यो।
'कहिलेकाहीँ क्रिकेट क्लबका ग्राउन्ड स्टाफसँग पालमा सुत्ने गर्थेँ,' उनी भन्छन्, 'पालमा बस्ने भए मैले रन हान्नु पर्ने शर्त राखिन्थ्यो। पालमा सुत्दा सहज हुने सोच्थेँ। किनभने मैदान नजिक हुँदा चाँडै अभ्यास गर्न पाइन्छ भन्ने लाग्थ्यो। रन हान्न, स्कोरिङमा बस्न वा अम्पाइरिङ गर्न पाउँछु कि भन्ने लाग्यो। त्यति गर्न सके भने मैले पैसा पाउथेँ।'
उनले तीन वर्ष टेन्टमा सुतेर मुम्बईमा संघर्ष गरेका थिए।
उनले पैसाका लागि चाडपर्वमा पानीपुरी लगायत स्ट्रीट फुड बेच्ने समेत काम गरे।
उनीसँग कहिलेकाँही त खाने पैसा समेत हुँदैन थियो। त्यसैले उनी पेटभर मासु-भात र तरकारी खान आइतबार कुर्थे, जुन दिन सित्तैमा खान पाइन्थ्यो।
'म सधैं आइतबार कुरिरहेको हुन्थेँ,' उनले भने।
मुम्बईमा संघर्ष गरिरहदा कहिलेकाँही १३ सय किलोमिटर टाढा रहेकी आफ्नी आमालाई अँगालो मार्न चाहन्थे। उनी कमजोर हुने डरले आफ्ना भावनालाई अरूका अघि दबाउँथे।
'आमाको याद आउँदा निकै रुन्थेँ,' उनीले संघर्षका दिन सम्झे, 'तर कसैलाई भन्दिन थिएँ। किनभने असहज परिस्थिति भए उनीहरूले मलाई घर जान सुझाव दिन्छन् भन्ने थाहा थियो। त्यसैले अरूको अघि ठिकै रहेको देखाउँथेँ।'
क्रिकेटर बन्ने सपनाले बिस्तारै गति लिइरहेको थियो। उनी सन् २०१५ देखि चर्चामा आउन सफल भए। स्कुल क्रिकेटको खेलमा उनले नटआउट ३१९ रन बनाएका थिए। त्यसपछि उनले भारतको यु–१६ टिममा स्थान बनाउन सफल भए।
२०१८ को यु–१९ एसिया कपमा उनले प्लेयर अफ दि टुर्नामेन्ट जित्ने क्रममा ३१८ रन जोडेका थिए। २०१९ मा दक्षिण अफ्रिकाविरुद्धको युथ टेस्टमा उनले २ सय बलमा १७३ रन जोडे।
त्यसपछि जैसवालले प्रतिष्ठित विजय हजारे ट्रफीमा दोहोरो शतक प्रहार गरे। उनले झारखण्डविरुद्धको समूह चरणको खेलमा १५४ बलमा २०३ रन बनाएका थिए।
तीन वर्षअघिको यु–१९ विश्वकपमा उनी सर्वाधिक रन हान्ने खेलाडीको शीर्ष स्थानमा थिए। उमेर समूहमा लगातार उत्कृष्ट प्रदर्शन गरेपछि जैसवाललाई आइपिएल २०२० को सिजनका लागि राजस्थान रोयल्सले २.४० करोड भारुमा आबद्ध गर्यो।
अब उनी भारतीय सिनियर टिमका बलिया दाबेदार भएको कतिपयको विश्लेषण छ।