वेस्ट इन्डिजले जुन-जुलाईमा जिम्बावेमा हुने विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि राष्ट्रिय टिम घोषणा गरेको छ।
टिममा बलिङ अलराउन्डर किमो पलले पुनरागमन गरेका छन्। गत वर्ष जिम्बावेमा खेलिएको टेस्टमा राम्रो प्रदर्शन गरेका गुडाकेश मोतीले पनि टिममा स्थान बनाएका छन्।
क्रिकेट विश्वकप सुपर लिगमा नवौं स्थानमा रहेपछि वेस्ट इन्डिज सिधा विश्वकपमा छनोट हुन असफल भएको थियो।
दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजले विश्वकप छनोटअघि युएईसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ। सिरिजमा लागि पनि टिम घोषणा गरिएको छ।
विश्वकप छनोटका लागि वेस्ट इन्डिजको टिम
शाई होप (कप्तान), रोभमन पावेल (विकेटकिपर), शामरह ब्रुक्स, यानिक कारिया, केसी कार्टी, रोस्टन चेस, जेसन होल्डर, अकेल होसेन, अल्जारी जोसेफ, ब्रान्डन किङ, काइल मेयर्स, गुडाकेश मोती, किमो पल, निकोलस पूरन, रोमारियो शेफर्ड
युएईविरुद्धको सिरिजका लागि वेस्ट इन्डिजको टिम
शाइ होप (कप्तान), ब्रान्डन किङ (विकेटकिपर), एलिक एथानाजे, शमारह ब्रूक्स, यानिक कारिया, केसी कार्टी, रोस्टन चेस, डोमिनिक ड्रेक्स, काभेम होज, अकीम जोर्डन, गुडाकेश मोती, किमो पल, रेमन रेफर, ओडियन स्मिथ, डेभन थोमस।
नेपालले दक्षिण अफ्रिकामा तयारी गर्ने
जिम्बावेमा आगामी जुन-जुलाईमा हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारी नेपालले दक्षिण अफ्रिकामा गर्ने प्रक्रिया अघि बढाएको छ।
नेपालले दक्षिण अफ्रिकामा दश दिन तयारी गर्ने योजना बनाएको छ। दक्षिण अफ्रिकामा रहदा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्न कुराकानी भइरहेको छ।
नेपाली टिम मे अन्तिम साता दक्षिण अफ्रिका जाने तयारीमा छ। दक्षिण अफ्रिकामा दश दिन बसेपछि नेपाली टिम प्रतियोगिता सुरु हुनुभन्दा एक साताअघि उतैबाट जिम्बावे पुग्नेछ।
जिम्बावेमा आगामी जुन १८ देखि सुरू हुने विश्वकप छनोटमा नेपाल तथा चार टेस्ट राष्ट्रसहित १० टिमले भाग लिँदैछन्। दुई पटकको च्याम्पियन वेस्ट इन्डिज, पूर्वविजेता श्रीलंकासहित आयरल्यान्ड र जिम्बावेले प्रतियोगितामा भाग लिँदैछन्।
नेपालसहित ओमान र स्कटल्यान्डले लिग-२ बाट विश्वकप छनोटमा स्थान पक्का गरेका थिए। यस्तै युएई र अमेरिकाले लिग-२ बाट विश्वकप छनोटमा स्थान बनाउन नसक्दा क्वालिफायर प्लेअफबाट जिम्बावेको टिकट काटेका थिए।
छनोट प्रतियोगिताबाट दुई टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा पुग्नेछन्।
यसअघि छनोटको तयारीका लागि वेस्ट इन्डिज र युएईबीच तीन खेलको एकदिवसीय सिरिज हुने पक्का भएको थियो।
सिरिजका लागि वेस्ट इन्डिजले युएई भ्रमण गर्नेछ। सबै तीन खेल शारजाह क्रिकेट रंगशालामा हुनेछन्, त्यसपछि दुबै टोली जुन १८ बाट सुरु हुने छनोट प्रतियोगितामा भाग लिन जिम्बावे जानेछन्।
सुपर सिक्सको शीर्ष दुईमा परे विश्वकपमा पुग्ने
विश्वकप छनोटमा सहभागी हुने टिमहरू :- वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे (आयोजक), आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएई।
विश्वकप छनोटमा पुगेका १० टिमलाई सुरुमा दुई समूहमा विभाजन गरिनेछ। पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्।
सुपर सिक्समा ६ टिमले एक आपसमा भिड्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।