आइपिएल २०२३ मा शीर्ष स्थानको गुजरात टाइटन्समाथि मुम्बई इन्डियन्सले जित हात पारेको छ। शुक्रबार मुम्बईमा भएको खेलमा घरेलु टिम २७ रनले विजयी भएको हो।
मुम्बईले दिएको २१९ रनको लक्ष्य पछ्याएको गुजरातले ८ विकेटको क्षतिमा १९१ रन जोड्यो।
गुजरातका लागि आक्रामक ब्याटिङ गरेका रासिद खानले ३२ बलमा ३ चौका र १० छक्का प्रहार गर्दै नटआउट ७९ रन जोडे पनि आफ्नो टिमलाई जिताउन सकेनन्।
खराब सुरुवात गरेको गुजरातका लागि डेभिड मिलरले ४१ रन र विजय शंकर २९ रन जोडे। ओपनरद्वय ऋद्धिमान साह २ रन र शुभमन गिल ६ रनम आउट भएका थिए। दुवैलाई मुम्बईका आकास मध्वालले आउट गरे।
मुम्बईका आकाशले ३ विकेट लिँदा पियुस चावला र कुमार कर्तिकेयाले २-२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेटको क्षतिमा २१८ रन जोड्यो।
उसका लागि सूर्यकुमार यादवले नटआउट १०३ रन जोडे। उनले ४९ बलमा ११ चौका र ६ छक्का प्रहार गरे। इशान किसनले ३१ रन, रोहित शर्माले २९ रन र विष्णु विनोदले ३० रन जोडे।
बलिङमा गुजरातका रासिद खानले चार विकेट लिए। अंक तालिकाको शीर्ष स्थानमा रहेको गुजरातले १२ खेलबाट १६ अंक जोडेको छ भने तेस्रो स्थानको मुम्बईको १४ अंक भएको छ।