आइपिएल २०२३ अन्तर्गत रोयल च्यालेन्जर्स बेंग्लोरले राजस्थान रोयल्समाथि ११२ रनको जित हात पारेको छ।
आइतबार जयपुरमा भएको खेलमा जित हात पारेसँगै बेंग्लोर १२ खेलबाट १२ अंक जोड्दै पाँचौ स्थानमा उक्लियो। छैटौं स्थानको राजस्थानको १३ खेलबाट १२ अंक नै छ।
बेंग्लोरले दिएको १७२ रनको लक्ष्य पछ्याएको राजस्थान १०.३ ओभरमा ५९ रनमै अलआउट भयो।
राजस्थानका लागि शिमरन हेटमेयरले ३५ रन र जोए रुटले १० रन जोड्दा बाँकी ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
ओपनरद्वय यशस्वी जैसवाल र जोस बटलर शून्यमा आउट भएका थिए।
बलिङमा बेंग्लोरका पर्नेलले ३ विकेट लिए भने माइकल ब्रासवेल र कर्ण शर्माले २-२ विकेट लिए। म्याक्सवेल र मोहमद सिराजले १-१ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले ५ विकेटको क्षतिमा १७१ रन जोड्यो।
उसका लागि कप्तान फाप डु प्लेसिसले ५५ रन र म्याक्सवेलले ५४ रन जोडे। अनुज रावलले ११ बलमा नटआउट २९ रन जोडे।
बलिङमा राजस्थानका एडम जाम्पा र केएम आसिफले २-२ विकेट लिए।