आइपिएल २०२३ अन्तर्गत लखनउ सुपर जाइन्टले मुम्बई इन्डियन्सलाई ५ रनले पराजित गरेको छ।
मंगलबार राति भएको खेलमा जित हात पारेसँगै लखनउ १३ खेलबाट १५ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लियो। मुम्बई भने १४ अंकसहित चौथो स्थानमा छ।
लखनउमा घरेलु टिमले दिएको १७८ रनको लक्ष्य पछ्याएको मुम्बईले ५ विकेटको क्षतिमा १७२ रन जोड्यो।
अन्तिम ओभरमा जितका लागि मुम्बईलाई ११ रन चाहिएको थियो। जसमा लखनउका मोहसिन खानले मुम्बईका टिम डेभिड र क्यामरन ग्रिनलाई कुनै चौका-छक्का प्रहार गर्न दिएनन् भने पाँच रन मात्र खर्चिए।
मुम्बईका लागि इशान किसनले सर्वाधिक ५९ रन र रोहित शर्माले ३७ रन जोडे। बलिङमा लखनउका यश कुमार र रवि विश्नोइले २-२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ३ विकेटको क्षतिमा १७७ रन जोड्यो।
लखनउका लगि मार्कस स्टोइनिसले नटआउट ८९ रन र क्रुणाल पाण्ड्याले ४९ रन जोडे। स्टोइनिसले ४७ बलमा ४ चौका र ८ छक्का हिर्काए।