आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तानको सहभागिता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का वरिष्ठ अधिकारी पाकिस्तान गएका छन्।
भारतीय मिडिया द प्रिन्टका अनुसार पाकिस्तानले विश्वकप बहिष्कार गर्ने चेतावनी दिएपछि सहभागिता सुनिश्चित गर्न आइसिसीका अधिकारी पाकिस्तान गएका हुन्।
दुई देशबीचको राजनीतिक तनावका कारण भारत र पाकिस्तानका क्रिकेट टिमले एक अर्काको भूमीमा गएर नखेल्ने बताएपछि आइसिसीका अधिकारी विश्वकपको बारेमा कुरा गर्न पाकिस्तान पुगेका हुन्।
भारतले अगामी सेप्टेम्बरको एसिया कपको लागि पाकिस्तान भ्रमण गर्न अस्वीकार गरिरहेको छ। पाकिस्तान आयोजक भए पनि एसिया कपका सबै खेल तेस्रो देशमा गराउनका लागि भारतले कसरत गरिरहेको छ।
पाकिस्तानबाट एसिया कप सार्न भारतले भूमिका खेलेपछि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले भारतमा हुने एकदिवसीय विश्वकप बहिष्कार गर्ने चेतावनी दिएको थियो।
पिसिबीले एक विज्ञप्तिमा आइसिसीका वरिष्ठ अधिकारीपछि अध्यक्ष र सिइओ दुई दिने भ्रमणको क्रममा पिसिबीका अध्यक्ष निजाम सेठी र अन्य क्रिकेट अधिकारीलाई भेट्न मंगलबार लाहोर आउने बताएको छ।
विश्वकपमा पाकिस्तानको सहभागिताको बारेमा सोध्दा आइसिसीका महाप्रबन्धक वासिम खानले सोमबार भर्चुअल प्रेस सम्मेलनमा भनेका थिए, ‘यो विषयमा अहिले स्पष्ट रुपमा कुरा भइरहेको छ।’
भारतीय क्रिकेट बोर्डका सचिव जय शाह एसियाली क्रिकेट काउन्सिल (एसिसी) को अध्यक्ष छन्। एसिसीले एसिया कपको मिति र स्थान यसै हप्ता सार्वजनिक गर्ने सम्भावना छ। एसिया कपमा नेपालले पनि सहभागिता जनाउँदैछ। नेपालले एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा प्रतिस्पर्धा गर्ने तय छ।
अक्टोबर-नोभेम्बरमा हुने विश्वकपको मिति र स्थानको घोषणा जुन ७ देखि लण्डनमा हुने विश्व टेस्ट च्याम्पियनसिप फाइनलपछि गरिने छ।