चेन्नई सुपरकिंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को च्याम्पियन बनेसँगै महेन्द्रसिंह धोनीको कप्तानीको फेरि एकपटक प्रशंसा भइरहेको छ।
सोमबार मध्यरातमा सकिएको फाइनलमा चेन्नईले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै पाँचौं पटक उपाधि जित्यो।चेन्नईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा आइपिएल ट्रफी उचाल्न सफल भयो।
धोनीले सोमबार टस जितेर गुजरातलाई ब्याटिङको निम्तो दिएका थिए। पहिले ब्याटिङ गरेको गुजरातले २१४ रन बनाएको थियो।
त्यसपछि चेन्नई सुपर किंग्सले ब्याटिङ सुरु गर्दा पहिलो ओभरको तीन बल मात्रै बलिङ गर्दा पानी पर्यो र खेल रोक्नुपर्यो।
वर्षा रोकिए पनि पिच र मैदान सुक्न निकै समय लाग्यो र खेल राति १२:२५ बजे पुनः सुरू भयो। १५ ओभरमा घटाइएको खेलमा डिएसएल नियम लागू गर्दै चेन्नईलाई जितका लागि १७१ रनको लक्ष्य दिइएको थियो। पावरप्ले ६ ओभरको सट्टा चार ओभरको बन्यो र बलरका लागि बढीमा तीन ओभर तोकियो।
चेन्नईका ओपनरद्वय ऋतुराज गायकवाड र डेवन कनवेले तीव्र ब्याटिङ सुरू गर्दै पावरप्लेको चार ओभरमा बिना कुनै क्षति ४८ रन बनाए।
दुबै ओपनरले ७४ रनको साझेदारी गरे। यो स्कोरमा चेन्नईको पहिलो विकेट ७ औं ओभरको तेस्रो बलमा ऋतुराज गायकवाड आउट हुँदा गयो। गायकवाडले १६ बलमा २६ रन बनाए। कनवेले २५ बलमा ४७ रन बनाए।
कनवे आउट भएपछि अजिन्का रहाणे र शिवम् दुवेले चेन्नईको इनिङ्स उकासे। रहाणेले मैदान प्रवेश गरे लगत्तै दुई छक्का प्रहार गरे। यससँगै चेन्नईले ८ ओभरमा २ विकेट गुमाएर ९४ रन बनायो।
चेन्नईले १० औं ओभरको पहिलो बलमा १०० रन पूरा गर्यो। यस ओभरको अन्तिम दुई बलमा रहाणेले दुई चौका प्रहार गरेपछि टोलीको स्कोर ११२ रन पुगेको थियो।
रहाणेलाई ११औं ओभरमा मोहित शर्माले आउट गरे। रहाणेले १३ बलमा २७ रन बनाए।
१२ औं ओभरमा शिवम दुवेले रसिद खानको अन्तिम दुई बलमा दुई छक्का प्रहार गर्दा चेन्नईले १३३ रन बनायो।
अम्बाती रायुडुले १३औं ओभरमा मोहित शर्माको पहिलो बलमा छक्का, दोस्रो बलमा चौका र तेस्रो बलमा अर्को छक्का प्रहार गरे। तर, यो ओभरको चौथो बलमा उनी १९ रन बनाएर आउट भए।
रायुडु आउट भएपछि कप्तान महेन्द्रसिंह धोनी ब्याटिङ गर्न आए र मोहित शर्मा पहिलो बलमा शून्यमै आउट भए।
१४औं ओभरमा मोहम्मद शामीले आठ रन मात्र खर्चिए।
अन्तिम ओभरमा चेन्नईलाई जितका लागि १३ रन चाहियो। चेन्नईका लागि रविन्द्र जडेजा र शिवम् दुवेले पहिलो चार बलमा तीन रन मात्र बनाउन सके। जसका कारण अन्तिम दुई बलमा १० रनको आवश्यक थियो।
पाँचौ बलमा जडेजाले मोहित शर्मालाई छक्का हिर्काएपछि खेल रोमाञ्चक मोडमा पुग्यो।
अन्तिम बलमा जितका लागि चार रन चाहिएको थियो। यस्तो अवस्थामा कप्तान महेन्द्रसिंह धोनी जडेजाको ब्याटिङ हेर्न सक्ने स्थितिमा थिएनन्। त्यसैले उनी टाउको निहुराएर बसे अनि आँखा बन्द गरे। त्यतिबेला जडेजाले अन्तिम बलमा चौका हिर्काए। अनि मैदानमा कुदेर जितको खुसी मनाए।
जडेजाले चौका हिर्काएर टिमलाई च्याम्पियन बनाउँदा अरू सबै खेलाडी मैदानमा कुदेर गएका थिए।
तर धोनी डगआउटमै बसिरहे। डगआउटमा रहेका धोनीलाई जडेजा नै दौडिएर आएर अँगालो मारे। अनि धोनीले जडेजालाई उचाले। त्यतिबेला धोनी निकै भावुक देखिएका थिए। उनका आँखा आँशुले भरिएको थिए।
त्यसअघि पहिलो इनिङ्ग्समा धोनीले गुजरातका ब्याट्सम्यान शुभमन गिलविरूद्ध गरेको स्टम्पिङ निकै चर्चामा रह्यो।
यो सिजन उच्च फर्ममा रहँदै सिजनमा सर्वाधिक रन प्रहार गर्ने ब्याट्सम्यान बनेका गिललाई ३९ रनमा धोनीले स्टम्पिङ गर्दै पेभिलियनको बाटो देखाएका थिए। धोनीले गिललाई ०.१ सेकेन्डमै स्टम्पिङ दाबी गरिएको छ। कमेन्टेटरले कीर्तिमानी धावक उसेन बोल्टको गतिसँग तुलना गरेका थिए।
यो पनि : फ्यानलाई 'उपहार' दिन आइपिएल सिजन २०२४ खेल्ने ४१ वर्षीय धोनीको बाचा