नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य मोहमद दाउद अन्सारीले अध्यक्ष चतुरबहादुर चन्दसँग ६ विषयमा लिखित जवाफ माग गरेका छन्।
जेठ १२ गते क्यानमा दर्ता गराइएको पत्रमा उनले सत्य तथ्य बुझ्नका लागि सहयोग हुने गरी लिखित जवाफ माग गरेका हुन्।
उनले मुलपानी मैदानको स्तरोन्नतीको आय ब्यय, होटल यल्लो प्यागोडाको बिल भुक्तानी, लेभिन स्पोर्ट्सको बक्यौता रकम, एसिसी प्रिमियर कपको भुक्तानी, नेपाल टी-२० लिगमा सेभेन थ्री स्टोर्ट्ससँगको भुक्तानी तथा कानुनी कारबाही र कार्यवहाक सचिवको सम्बन्धमा लिखित जवाफ माग गरेका हुन्।
‘मुलपानीको क्रिकेट मैदानको स्तरोन्नती कार्य अति आवश्यक रहेकोमा उक्त कार्य सन्तोषजनक रुपमा सम्पन्न गर्न पहल गर्नु भएका नेतृत्व तथा सहयोगी साथीलाई धन्यवाद दिँदै उक्त स्तरोन्नती कार्यको विस्तृत आय व्यय विवरण माग गर्दछु,’ उनले अध्यक्षलाई लेखेको पत्रमा भनिएको छ।
यस्तै नेपाल क्रिकेट संघले यल्लो प्यागोडा होटलमा विभिन्न कार्यक्रम गर्दै आएकोमा आर्थिक वर्ष २०७९/०८० मा भुक्तान गरिएको बिल शीर्षक सहित उपलब्ध गराउन उनले माग गरेका छन्।
अप्रिल-मे २०२२ मा मलेसिया, पपुवा न्युगिनी तथा नेपालबीच सम्पन्न त्रिदेशीय सिरिज तथा जिम्बावे र नेपालबीचको सिरिज खेल आयोजनाको अधिकार लेभिन स्पोर्ट्सले पाएकोमा उक्त प्रतियोगिता गरेबापत लेभिन स्पोर्ट्सले क्यानलाई दिनुपर्ने रकमको विषयमा पनि उनले प्रश्न गरेका छन्।
‘क्यानले कति रकम पाएको छ? यदि बाँकी छ भने उक्त रकम प्राप्त गर्न अध्यक्षज्यूले के कस्तो पहल गर्नु भएको छ त्यसको जानकारी उपलब्ध गराइदिन माग गर्दछु,’ उनको भनाइ छ।
काठमाडौंमा सम्पन्न एसिसी प्रिमियर कपमा भएका विभिन्न खर्च शीर्षकमध्ये फ्लेक्स, होडिङ बोर्ड, प्रिन्टिङ, टेन्ट तथा क्याटरिङको बिल भरपाइ उपलब्ध गराउन पनि उनले माग गरेका छन्।
यस्तै उनले विवादित नेपाल टी-२० लिगको विषयमा पनि लिखित जवाफ माग गरेका छन्।
उनको पत्रमा भनिएको छ :-
नेपाली क्रिकेटको इतिहासमा कालो धब्बाको रुपमा प्रमाणित भइसकेको नेपाल टी-२० लिगको आयोजक विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स प्रतियोगिता बीच मै छोडेर भागेकोमा उक्त कम्पनीले करार बमोजिम तपसिलका कार्य गर्न बाँकी रहेको देखिन्छ-
क- खेलाडीहरूको म्याच फि हालसम्म भुक्तानी नभएको,
ख-पुरस्कार राशी, म्यान अफ द म्याचको पुरस्कार रकम भुक्तानी नभएको,
ग- सेभेन थ्रीसँग नेपाल क्रिकेट संघले अनुमती फि बापतको पूरा रकम नपाएको देखिन्छ।
यति हुँदाहुँदै हालसम्म नेपाल क्रिकेट संघले उक्त रकम प्राप्त गर्न के कस्तो पहल गरेको छ र क्यानले सेभेन थ्री स्पोर्ट्सविरुद्ध कानुनी कारबाही किन अगाडि बढाएको छैन, यो सबैभन्दा रहस्यमय विषय रहेको छ।
साथै विदेशी खेलाडीको श्रम स्विकृति सम्बन्धी फाइल सम्बन्धित निकायमा के कति कारणले पेन्डिङ रहेको तथा स्पष्टिकरण समेत नबुझाएकोमा क्यानको चरम लापरवाही देखिन्छ। तसर्थ यस सम्बन्धमा विस्तृत जानकारी उपलब्ध गराई दिनहुन माग गर्दछु।
अन्सरीले कार्यबाहक सचिव नियुक्तिको विषयमा पनि अध्यक्षको जवाफ मागेका छन्।
‘अध्यक्षज्यूले नियुक्त गर्नु भएको अवैधानिक सचिव दुर्गाराज पाठक, जो विशेष साधारणसभामा ल्याइएको विधान संशोधनको मस्यौदाबाट पनि उहाँ अवैधानिक रहेको प्रष्ट हुन्छ, विधान संशोधनको सम्पूर्ण प्रक्रिया पूर्ण भए पछि मात्र वैधानिक हुन सकिन्छ। तसर्थ उहाँले यस अवधिभित्र गरेका सम्पूर्ण निर्णय तथा कार्य स्वतः अवैधानिक हुन जाने देखिएकोले मेरो फरक मत र कानुनी कारवाहीको बाटो रहिरहन्छ,’ उनको पत्रमा भनिएको छ।