जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न नेपाली टिम मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गरेको छ।
नेपाली टिमले दक्षिण अफ्रिकामा दश दिन अभ्यास गर्ने कार्यक्रम छ। त्यहाँ नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्ड तथा स्थानीय टिम गरी चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
नेपाली टिम प्रशिक्षक मोन्टी देसाई र स्पिनर सन्दीप लामिछानेबिना दक्षिण अफ्रिका गएको छ। अमेरिकामा रहेको बेला देसाइले उतैबाट भिसा प्रक्रिया अघि बढाएका थिए। तर उताबाट भिसा नपाएपछि उनी भारत फर्किएर भिसा प्रक्रिया अघि बढाएका छन्। देसाई भिसा लागे लगत्तै दक्षिण अफ्रिका जानेछन्।
घोषणा गरिएको १६ सदस्यीय टिममा रहेका सन्दीप भने अदालती प्रक्रियाका कारण दक्षिण अफ्रिका नगएका हुन्। नाबालिक बलात्कारको अभियोग लागेका सन्दीप अदालतको पेशीका कारण दक्षिण अफ्रिका नगएको क्यानको भनाइ छ। अर्को हप्ता हुने पेशीबाट फैसला आएको अवस्थामा उनी जाने/नजाने टुंगो लाग्नेछ।
नेपाली टिम प्रतियोगिता सुरु हुनुभन्दा एक साताअघि दक्षिण अफ्रिकाबाटै जिम्बावे पुग्नेछ। जिम्बावे पुगेपछि नेपालले ओमान र युएईसँग वार्मअप खेल खेल्नेछ।
१० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित, दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्।
समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।
नेपालले आफ्नो पहिलो खेल १८ जुनमा (असार ३) आयोजक जिम्बावेसँग खेल्नेछ। यस्तै नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।
पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्।
सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।
विश्वकप छनोटका लागि नेपाली टिम
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, किशोर महतो।
खेल तालिका
आइतबार, १८ जुन
जिम्बाब्वे विरुद्ध नेपाल, हरारे स्पोर्ट्स क्लब
वेस्ट इन्डिज विरुद्ध अमेरिका, ताकासिंगा क्रिकेट क्लब
सोमबार, १९ जुन
श्रीलंका विरुद्ध युएई, क्वीन्स स्पोर्ट्स क्लब
आयरल्याण्ड विरुद्ध ओमान, बुलावायो एथलेटिक क्लब
मंगलबार, २० जुन
जिम्बाब्वे विरुद्ध नेदरल्याण्ड्स, हरारे स्पोर्ट्स क्लब
नेपाल विरुद्ध अमेरिका, ताकासिंगा क्रिकेट क्लब
बुधबार, २१ जुन
आयरल्याण्ड विरुद्ध स्कटल्याण्ड, क्वीन्स स्पोर्ट्स क्लब
ओमान विरुद्ध युएई, बुलावायो एथलेटिक क्लब
बिहीबार, २२ जुन
वेस्ट इन्डिज विरुद्ध नेपाल, हरारे स्पोर्ट्स क्लब
नेदरल्याण्ड्स विरुद्ध अमेरिका, ताकासिंगा क्रिकेट क्लब
शुक्रबार, २३ जुन
श्रीलंका विरुद्ध ओमान, क्वीन्स स्पोर्ट्स क्लब
स्कटल्याण्ड विरुद्ध युएई, बुलावायो एथलेटिक क्लब
शनिबार, २४ जुन
जिम्बाब्वे विरुद्ध वेस्ट इन्डिज, हरारे स्पोर्ट्स क्लब
नेदरल्याण्ड्स विरुद्ध नेपाल, ताकासिङ्गा क्रिकेट क्लब
आइतबार, २५ जुन
श्रीलंका विरुद्ध आयरल्याण्ड, क्वीन्स स्पोर्ट्स क्लब
स्कटल्याण्ड विरुद्ध ओमान, बुलावायो एथलेटिक क्लब
सोमबार, २६ जुन
जिम्बाब्वे विरुद्ध अमेरिका, हरारे स्पोर्ट्स क्लब
वेस्ट इन्डिज विरुद्ध नेदरल्याण्ड्स, ताकासिंगा क्रिकेट क्लब
मंगलबार, २७ जुन
श्रीलंका विरुद्ध स्कटल्याण्ड, क्वीन्स स्पोर्ट्स क्लब
आयरल्याण्ड विरुद्ध युएई, बुलावायो एथलेटिक क्लब