वुमन्स इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टिम घोषणा गरिएको छ।
जेठ २९ गतेदेखि हङकङमा हुने प्रतियोगितामा सहभागिताका लागि पत्र आएपछि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिम घोषणा गरेको हो।
यसअघि प्रतियोगितामा नेपाल सहभागी हुने तालिका थिएन। प्रतियोगितामा छनोट भएको थाइल्यान्डले नखेल्ने भए पनि नेपाललाई सहभागिताका लागि प्रस्ताव आएको थियो।
प्रतियोगिताको समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’, नेपाल र हङकङ छन्। समूह ‘बी’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, युएई र मलेसिया छन्। प्रत्येक समूहबाट शीर्ष २ टिम सेमिफाइनलमा पुग्नेछन्।
एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले एसोसिटए राष्ट्रलाई एक्सपोजर दिने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको छ। जसमा टेस्ट राष्ट्रको २३ वर्ष मूनिको टिमलाई सहभागी गराइने गरेको छ।
नेपालले पहिलो खेल जेठ ३० मा पाकिस्तान ‘ए’ सँग, जेठ ३२ गते भारतसँग र असार २ मा आयोजक हङकङसँग खेल्नेछ।
नेपाली महिला टिमले गत साता मलेसियासँग पाँच खेलको टी-२० सिरिज खेलेको थियो। सो सिरिज नेपालले ३-२ ले जितेको थियो।
नेपाली टिम : रुबिना क्षेत्री, सीता रानामगर, इन्दू बर्मा, कविता कुँवर, विन्दू रावल, ज्योती पाण्डे, सम्झना खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वती चौधरी, अस्मिना कर्माचार्य, इश्वरी विष्ट, अप्सरी बेगम र कविता जोशी