एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले यो वर्षको एसिया कप अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म हुने औपचारिक घोषणा गरेको छ।
प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपालका कुल १३ वटा खेल हुनेछ।
लामो विवादपछि हाइब्रिड मोडलमा आयोजना हुने प्रतियोगितामा चार खेल पाकिस्तानमा र बाँकी ९ खेल श्रीलंकामा खेलाइने एसिसीले विज्ञप्तीमार्फत् पुष्टि गरेको छ। एसिसीले बिस्तृत खेल तालिका भने अझै प्रकासन गरेको छैन।
समूह एमा नेपाल, पाकिस्तान र भारत रहेका छन्। अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।
प्रत्येक समूहबाट दुई टोलीहरू सुपर फोर चरणको लागि छनोट हुनेछन्। सुपर फोरका शीर्ष दुई टोलीले फाइनलमा भिड्नेछन्।
यसअघि भारतले पाकिस्तान भ्रमण नगर्ने जनाएपछि एसिया कपको विवाद सुरु भएको थियो। जसका कारण पाकिस्तान आयोजक भने पनि अधिकांस खेल श्रीलंकामा हुने भएका हुन्।
भारत रहेको समूहका खेल श्रीलंकामा हुने भएकाले नेपालको खेल पनि श्रीलंकामै हुनेछन्।