आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ को खेलमा घरेलु टिम जिम्बावेले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजलाई पराजित गरेको छ।
शनिबार हरारेमा भएको खेलमा जिम्बावेले ३५ रनको जित निकाल्दै महत्वपूर्ण दुई अंक जोडेको हो। यो समूहबाट जिम्बावे र वेस्ट इन्डिजसँगै नेदरल्यान्ड्स सुपर सिक्समा पुगिसकेका छन्। आजै नेदरल्यान्ड्ससँग पराजित भएपछि नेपाल भने सुपर सिक्समा पुग्न असफल भयो।
जिम्बावेले दिएको २६९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ४४.४ ओभरमा २३३ रनमा आउट भएको थियो।
वेस्ट इन्डिजका लागि ओपनिङ ब्याट्सम्यान कायल मेयर्सले ५६ रन जोडे भने रोस्टन चेज ४४ रनमा आउट भए। कप्तान शाइ होपले ३० रन र निकोलास पूरनले ३४ रन मात्र जोड्न सके।
वेस्ट इन्डिजलाई अलआउट गर्ने क्रममा जिम्बावेका टेन्डाइ चतराले ३ विकेट लिए। ब्लेसिङ मुजरबानी र रिचार्ड गाभानाले २-२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे १ बल खेल्न बाँकी छदा २६८ रनमा अलआउट भयो। जिम्बावेका लागि शिकन्दर राजाले ६८ रन र रायन बर्लले ५० रनको योगदान दिए।