नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धक (जिएम) बाट बृतान्त खनालले राजीनामा दिएका छन्।
२०७९ को वैशाखदेखि क्यानको महाप्रवन्धक नियुक्त भएका खनालले पदाधिकारीसँगको विवादपछि इमेलमार्फत राजीनामा पत्र पठाएका छन्।
उनले अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारीलाई इमेल गर्दै राजीनामा दिएको क्यान स्रोतले बतायो। उनले केही दिनअघि राजीनामा दिए पनि स्विकृत भने भएको छैन।
मुलपानी मैदान प्रतियोगिताका लागि भाडामा दिएको विषयमा विवाद भएको बुझिएको छ।
यस विषयमा क्यान अध्यक्ष चन्दसँग बुझ्दा उनले आन्तरिक विषय भएको भन्दै स्पष्ट कुरा गर्न चाहेनन्। क्यानको शुक्रबार बस्ने बोर्ड बैठकमा यस विषयमा कुरा हुन्छ भनेर सोध्दा उनको जवाफ थियो, ‘एजेन्डामा भएको विषयमा छलफल हुने हो।’
खनालसँग राजीनामाबारे बुझ्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन।
खनालले राजीनामा दिएपछि क्यान पदाधिकारीले उनीलाई क्यानमा फर्काउन छलफल गरिरहेको बुझिएको छ। विवादपछि आउने सक्ने परिस्थितिलाई मध्यनजर गर्दै क्यान पदाधिकारीले खनालको राजीनामा स्विकृत भने गर्न चाहेका छैनन्।
खनाल २०७९ को वैशाख ३ गतेदेखि लागू हुने गरी क्यानको जिएममा नियुक्त भएका थिए। क्यानले अघिल्लो वर्ष नियुक्त गरेका रौनक मल्लको करार नथप्ने निर्णय गर्दै दरखास्त आह्वान गरेको थियो।