आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सुपरसिक्सको खेलमा घरेलु टिम जिम्बावेले ओमानलाई १४ रनले पराजित गरेको छ।
बिहीबार भएको खेलमा जिम्बावेले दिएको ३३३ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतिमा ३१८ रन बनाउन सक्यो।
ओमानका लागि ओपनर कश्यप प्रजापतिले १०३ रन जोडे। उनले ९७ बलमा १२ चौका र १ छक्का हिर्काए। यस्तै अकिब इल्यासले ४५ रन र आयन खानले ४७ रन जोडे।
बलिङमा जिम्बावेका चतरा र मुजराबानीले ३-३ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ७ विकेटको क्षतिमा ३३२ रन जोड्यो। उसका लागि सीन विलयम्सले १४२ रनको योगदान दिए भने शिकन्दर राजाले ४२ रन र जुक जोङ्गेल नटआउट ४३ रन बनाए।
बलिङमा ओमानका फयज बटले ४ विकेट लिए।
जितसँगै जिम्बावे सुपरसिक्सको शीर्ष स्थानमा उक्लियो। उसको ३ खेलबाट ६ अंक भएको छ। दोस्रो स्थानको श्रीलंकाको २ खेलबाट ४ अंक छ।