नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक (जिएम) बाट वृत्तान्त खनालले दिएको राजीनामा बोर्ड बैठकबाट स्वीकृत भएको छ।
२०७९ को वैशाखदेखि क्यानको महाप्रबन्धक नियुक्त भएका खनालले पदाधिकारीसँगको विवादपछि इमेलमार्फत् राजीनामा पत्र पठाएका थिए।
यस विषयमा सेतोपाटीको जिज्ञासामा अध्यक्ष चतुरबहादुर चन्दले स्पष्ट जवाफ दिएका थिएनन्।
क्यानको शुक्रबार बसेको बैठकमा यस विषयमा छलफल भएको थियो। अधिकांश केन्द्रीय सदस्यले जिएमले दिएको राजीनामा स्वीकृत गर्नुपर्ने धारणा राखेका थिए।
यसअघि उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलको राजीनामा तत्काल स्वीकृत गर्ने तर जिएम खनालको राजीनामा स्वीकृत नगर्नुको कारण अध्यक्ष चन्दसँग केन्द्रीय सदस्यले माग गरेपछि चन्दले बैठकमा विचार गर्ने बताएका थिए।
जिएम खनालले केही दिनअघि अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारीलाई इमेल गर्दै राजीनामा बुझाए पनि स्वीकृत भने भएको थिएन।
खनाल २०७९ को वैशाख ३ गतेदेखि लागू हुने गरी क्यानको जिएममा नियुक्त भएका थिए। क्यानले अघिल्लो वर्ष नियुक्त गरेका रौनक मल्लको करार नथप्ने निर्णय गर्दै दरखास्त आह्वान गरेको थियो।