नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धक (जिएम) बाट राजीनामा दिएका वृतान्त खनालले अध्यक्ष चतुरबहादुर चन्दमाथि गम्भीर आरोप लगाएका छन्।
केही दिनअघि राजीनामा दिएका खनालको शुक्रबार बसेको बोर्ड बैठकले राजीनामा स्वीकृत गरेको थियो। खनालको राजीनामापछि क्यानले क्रिकेट म्यानेजर विनोद दासलाई कार्यबाहक जिमएमको जिम्मेवारी दिएको छ।
राजीनामा दिनुको कारणबारे खनालले शनिबार फेसबुकमा उल्लेख गरेका छन्।
उनले लेखेका छन्, 'क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दको खेल र खेलाडीको मात्र नभई व्यवस्थापनमा बलमिच्याइँ, सबै विषयमा पार्टीबाट वा हाल प्रधानमन्त्री कार्यालयबाट दबाब छ भन्दै काम गराउने, र काम गर्न नमिलेपछि शासकीय शैलीमा बर्खास्तीको धम्की दिन्ने बानी रहेको हुँदा मैले यो दास मानसिकतामा काम गर्न नसकिने हुँदा राजीनामा दिएको हुँ।'
सेतोपाटीमा उनको राजीनमा स्वीकृत भएको समाचार सेयर गर्दै लेखेका छन्,'चतुरबहादुर चन्द कांग्रेसका बैतडी जिल्ला सभापति पनि हुनुहुन्छ, उहाँका केही आर्थिक अनियमिततामा व्यवस्थापनको प्रश्न उठेपछि उहाँ पुरानै शासकीय शैलीमा उग्ररूपमा गाली गलौजमा फर्किनु भएको हो। दिउँसै रक्सी सुरमा धुत भएर संघको केन्द्रीय कार्यालयमा आएर मलाई अभद्र गाली गरेपछि मैले राजीनामा दिएको हुँ। विवादास्पद टी-२० लगायत संघका स्रोतका अन्य धेरै विषयहरू क्रमशः व्याख्या गर्दै गरौंला।'