नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक सचिव दुर्गाराज पाठक यतिबेला जिम्बावेमा छन्।
शुक्रबार क्यानको बोर्ड बैठक सकिएपछि अध्यक्ष चन्द र कार्यवाहक सचिव पठाक शनिबार साँझ जिम्बावेतर्फ लागेका थिए।
अध्यक्ष चन्द अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी) को निमन्त्रणमा त्यसतर्फ गएका हुन्। आगामी १० देखि १४ जुलाईसम्म दक्षिण अफ्रिकमा हुने आइसिसी वार्षिक कन्फरेन्स सुरु हुन ९ दिन अध्यक्ष चन्द जिम्बावे पुगेका हुन्। अध्यक्ष चन्द र कार्यवाहक सचिव पठाक जिम्बावेबाट दक्षिण अफ्रिका जानेछन्।
कार्यवाहक सचिवलाई भने जिम्बावे क्रिकेटले निमन्त्रणा पठाएको थियो। आइसिसी विश्वकप छनोट प्रतियोगिता सुरु भएको १० दिनपछि मात्र सचिवलाई जिम्बावे क्रिकेटको निमन्त्रणा आएको थियो।
बोर्ड बैठकमा केन्द्रीय सदस्यहरूले नेपाल विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको एक सातापछि जिम्बावे जानुको औचित्यबारे प्रश्न गरेका थिए।
केन्द्रीय सदस्यले आइसिसीको कार्यक्रममा अध्यक्ष जाने कुरा ठिक भए पनि ८ दिनअघि नै जाने कुराको विरोध गरेका थिए। यस्तै नेपाल छनोटबाट बाहिरिसकेको अवस्थामा कार्यवाहक सचिव जादा संस्थालाई भार पर्ने केन्द्रीय सदस्यहरूको तर्क थियो।
‘दुवै जनाको हवाइ टिकटको दुईतर्फको खर्च दश लाख रुपैयाँभन्दा माथि हुन आउछ। अझ होटलमा बस्दा दैनीक १५० अमेरिकी डलरभन्दा बढी खर्च हुन्छ। यति मात्र होइन, दैनीक २ सय अमेरिकी डलर भत्ता पनि हुन्छ,’ क्यानका एक कर्मचारीको भनाइ छ, 'यसले संस्थालाई भार पर्ने बाहेक अरु केही फाइदा गर्दैन। दु:खको कुरा कार्यवाहक सचिवलाई निमन्त्रणा स्वत: आएको होइन। यताबाट भिसाको लागि निमन्त्रणा चाहिने भन्दै मगाइएको हो।’
नेपाल क्रिकेट संघले गरेका पछिल्ला अवैधानिक गतिविधिको विरोध गर्दै आएका केन्द्रीय सदस्य दाउद अन्सारी अध्यक्ष र कार्यवाहक सचिवको जिम्बावे भ्रमणको नियत सहि नभएको बताउँछन्।
‘बोर्ड बैठकमा पनि मैले यस विषयमा कुरा उठाएको थिएँ। अध्यक्ष आइसिसीको कार्यक्रममा जाने कुरा ठीक छ। हामीले अवैधानिक भनिरहेका कार्यवाहक सचिवलाई आइसिसीबाट कुनै निमन्त्रणा आएको छैन भन्दै औचित्य पुष्टि गर्न माग गरेका हौं,’ अन्सारीले भने, ‘अर्कोतर्फ उहाँहरूले १६ दिनको ट्रिप बनाउनु भएको छ। दैनीक भत्ता उच्चतम २ सय अमेरिकी डलर हुनु पर्नेमा यहाँ २ सय डलर नै लिने कुरा छ। क्यानका प्रशिक्षक/कर्मचारीलाई पैसा छैन भन्ने अनि अनावश्यक भ्रमणमा पदाधिकारी जानेकुरा ठीक होइन भन्ने हाम्रो भनाइ हो। यहाँ एक जनाले यो भ्रमणबाट ३२ सय डलरको दाबी गर्दैछन्। दुई जनाको ६४ सय डलरबाहेक अरु बील पनि होलान्।’