गत वैशाखमा नेपालमा सम्पन्न भएको एसिसी प्रिमियर कपमा भएको खर्चको विषयमा गत शुक्रबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकमा छलफल भयो।
बैठकमा ९ नम्बर एजेन्डाअन्तर्गत ‘कार्य सम्पादन समितिबाट भएका निर्णयहरू अनुमोदन सम्बन्धमा’ एसिसी प्रिमियर कपमा भएको खर्चको विषयमा छलफल भएको थियो।
बैठकमा एसिसी प्रिमियर कपका लागि एसिसीको निर्देशन बमोजिम मुलपानी मैदान र त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न भएको सम्पूर्ण निर्माण कार्यबारे कोषाध्यक्ष रोशनकुमार सिंहले जानकारी गराएका थिए।
बैठकमा उपस्थित असन्तुष्ट केन्द्रीय सदस्यहरूले एसिसी प्रिमियर कपमा प्रक्रियागत रुपमा काम नभएको भन्दै खर्चको स्पष्ट विवरण पेश माग गरेका थिए। त्यसपछि क्यानका कर्मचारीले हतार-हतार खर्चको खेस्रा बैठकमा बुझाएको केन्द्रीय सदस्य दाउद अन्सारी बताउँछन्। बैठकमा बुझाएको उक्त विवरणमा कुन काम कति दिन भएको तथा कति कमादार र समान उपयोग भएको स्पष्ट केही उल्लेख नभएको अन्सारीले बताए।
यो विषय शंकास्पद देखिएपछि केन्द्रीय सदस्यहरुले कार्यसम्पादन समितिले पास गरेको हो कि होइन भनेर स्पष्ट जानकारी माग गरेका थिए। त्यसपछि अध्यक्ष चतुरबहादुर चन्दले कार्यसम्पादन समितिबाट पास नभएको बताएका थिए।
बोर्ड बैठक बस्न नसक्ने अवस्थामा क्यानको कार्यसम्पादन समितिलाई निर्णय गर्न सक्ने अधिकार छ। यद्यपी कार्यसम्पादन समितिका सबै निर्णय बोर्ड बैठकबाट भने अनिवार्य अनुमोदन हुनु पर्छ। त्यहिअनुरुपमा कार्यसम्पादन समितिले प्रिमियर कपको खर्चको विषयमा छलफल गरे पनि ‘पास’ भने गरेको थिएन।
‘कार्यसम्पादन समितिमा प्रिमियर कपको बजेट र खर्चको विषय आएको थियो। यसमा ठूलो खर्च भएको हुनाले केन्द्रीय समितिले पास गर्नु पर्छ भनेर हामीले सहिछाप गरेका छौं, यो खर्च कार्यसम्पादनबाट पास भएको छैन,’ कार्यसम्पादन समितिका पाँच सदस्य मध्येका एक पदम खड्काले सेतोपाटीसँग भने, ‘देखिदा ठूलो खर्च छ। लगभग १ करोड १२/१३ लाख रुपैयाँ स्टकचरल कामको लागि खर्च भएको देखिन्छ। सहभागी टिम खाने-बस्नका लागि हुने खर्च रेगुलर हो। रेगुलरबाहेकको खर्च जस्तै झन्डा राख्ने, भौतिक पूर्वाधार, जाली हालेको लगायतको खर्च चाहिँ १ करोड १४ लाखको इन्जिनियरिङ इस्टिमेट लिएर कोषाध्यक्षले गराउनु भएको हो। यो ठूलो खर्च आएपछि कार्यसम्पादन समिति विवादमा पर्ला भनेर केन्द्रीय समितिमा पठाएका हौं। खर्च हेरेर अर्को बोर्ड बैठकमा कुराकानी गर्ने निर्णय भएको छ।’
केन्द्रीय सदस्य विक्रम विष्टले पनि अर्को बोर्ड बैठकमा छलफल गर्ने निर्णय भएको बताउँछन्।
‘प्रिमियर कपको खर्चको विषय बोर्ड बैठकमा आएको हो। बिल भरपाई सबै ल्याएर अर्को बोर्ड बैठकमा कुरा गर्ने निर्णय भएको छ,’ उनले भने।
शुक्रबारको बोर्ड बैठकको निर्णय नम्बर ९ ले प्रिमियर कपको विषयको खर्चको विषयमा सम्बोधन गरेको छ।
‘कार्य सम्पादन समितिले गरेको ५ वटा निर्णय मध्ये निर्णय नम्बर ३ एसिसी प्रिमियर कपको खर्च सम्बन्धमा अझै थप अध्ययन गरी आगामी बैठकमा अनुमोदन गर्ने निर्णय गरियो,’ निर्णयमा भनिएको छ।