नेपाली राष्ट्रिय क्रिकेट टिम जिम्बावेमा भएको आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेलेर शुक्रबार स्वदेश आइपुगेको छ।
प्रतियोगितामा १० टिम सहभागी भएकोमा नेपाल आठौं भएको थियो।
समूह चरणमा अमेरिकाबाहेक अरु तीन टिमसँग पराजित हुँदा नेपाल सुपरसिक्समा पुग्न असफल भएको थियो भने विश्वकपमा छनोट अभियानबाट बाहिरिएको थियो।
नेपाललाई समूह चरणमा जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्ड्सले पराजित गरेका थिए।
स्वदेश फर्किएपछि नेपालका कप्तान रोहितकुमार पौडेलले सोचेको जस्तो नतिजा नआएको बताए।
‘सोचेको जस्तो नतिजा आएन। तर धेरै कुरा सिक्न पायौं। टेस्ट टिमसँग राम्रो प्रतिस्पर्धा थियो, तर सजिलो थिएन। टेस्ट टिमलाई जित्नका लागि सबै क्षेत्रमा (ब्याटिङ, बलिङ र फिल्डिङमा) राम्रो गर्नुपर्छ। हामीले हरेक खेलमा एक दुई क्षेत्र मिस गरेका थियौं,’ कप्तान पौडेलले भने।
टेस्ट टिमविरुद्ध खेल्नुअघि उत्साहित भएको उनको भनाइ छ।
‘सुरुमा जिम्बावे र वेस्ट इन्डिजका बलरले कस्तो बलिङ गर्छन् भनेर हामीमा उत्सुकता थियो। बल फेस गर्दा केही फरक लागेन। स्किल उस्तै थियो। उनीहरुसँग बढी भनेको अनुभव थियो। टेस्ट टिमसँग रेगुलर खेल्न पायौ भने हामीले पनि उनीहरुलाई हराउन सक्छौं,’ उनले भने, ‘हाम्रो लागि आउने चार वर्ष महत्वपूर्ण छ। नेदरल्यान्ड्सहित अरु टिमहरुसँग एकदिवसीय खेल हुनेछ। टेस्ट टिमसँग खेल्न पायौं भने झन् एक्सपोजर हुन्छ।’
यहि महिनाको अन्त्यबाट श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा राम्रो प्रदर्शन गर्ने उनको भनाइ थियो।