नेदरल्यान्ड्सलाई १२८ रनले पराजित गर्दै श्रीलंका आइसिसी एकदिवसीय विश्वकप छनोट च्याम्पियन बनेको छ।
आइतबार जिम्बावेको हरारेमा भएको फाइनल खेलेका श्रीलंका र नेदरल्यान्ड्स दुवै टिम यसअघि नै विश्वकपमा छनोट भएका थिए।
आइतबार पहिले ब्याटिङ गरेको श्रीलंकाले २३३ रन जोड्यो। श्रीलंकाका लागि सहन अराच्चिङे ५७ रन जोडे।
बलिङमा नेदरल्यान्ड्सका भान वीक, रायन क्लइन, विक्रमजित सिंह र सकिब जुल्फिकरले २-२ विकेट लिए।
२३४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २३.३ ओभरमा १०५ रनमै अलआउट भयो।
उसका लागि म्याक ओ’डाउडले सबैभन्दा बढी ३३ रन जोडे। नेदरल्यान्ड्सका ३ ब्याट्सम्यान शून्यमा आउट हुँदा ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा श्रीलंकाका दिलसान मुधुशंका ४ विकेट लिँदा महीश तीक्षणाले ३ विकेट हात पारे।