असार २८ देखि श्रीलंकामा सुरू हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपाली टिमका अलराउन्डर आरिफ शेखले नखेल्ने भएका छन्।
यसअघि टिममा परेका आरिफले पारिवारिक कारणले नाम फिर्ता लिएका हुन्। अब उनको स्थानमा पवन सर्राफले खेल्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
यसअघि टिममा ज्ञानेन्द्र मल्ल र करण केसीलाई पनि आराम दिइएको थियो। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी क्याडनामा हुने ग्लोबल टी-२० खेल्न जाने भएका कारण टिममा छैनन्।
टिममा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराले स्थान बनाएका थिए।
नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरा।
प्रतियोगितामा नेपालले पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग प्रतिस्पर्धा गर्ने भएको छ।
एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले प्रकाशन गरेको खेल तालिकाअनुसार नेपाल र पाकिस्तानबीचको खेल असार २९ मा हुनेछ।
नेपालले दोस्रो खेल भारतको ‘ए’ टिमसँग साउन १ मा खेल्नेछ। यस्तै युएईको ‘ए’ टिमसँग नेपालको खेल साउन ३ मा हुनेछ।
दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।
अघिल्ला संस्करणमा एसिसीले टेस्ट राष्ट्रका यू-२३ टिमलाई सहभागी गराउने गरेको थियो। यसपटक भने टेस्ट राष्ट्रसहितका टिमले युवा खेलाडी समेट्दै 'ए' टिम बनाएका छन्।
समूह ए – श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए, ओमान ए
समूह बी - पाकिस्तान ए, भारत ए, नेपाल, युएई ए