अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आइसिसी प्रतियोगितामा पुरुष र महिला टोलीका लागि समान पुरस्कार राशी प्रदान गर्ने घोषणा गरेको छ।
दक्षिण अफ्रिकाको डरबनमा भएको आइसिसीको वार्षिक सम्मेलनमा यो निर्णय लिइएको हो।
आइसिसी अध्यक्ष ग्रेग बार्कलेले घोषणालाई महत्त्वपूर्ण क्षण भएको बताएका छन्।
उनले भने, ‘म खुसी छु कि आइसिसी प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्ने पुरुष र महिला क्रिकेटरहरूलाई अब समान रूपमा पुरस्कृत गरिनेछ।‘
अब एकदिवसीय विश्वकप, टी-२० विश्वकप र यू-१९ विश्वकपमा महिला टिमलाई पनि पुरुष सरह नै पुरस्कार दिइनेछ।
सन् २०१९ को पुरुष एकदिवसीय विश्वकप विजेता इंग्ल्यान्डले ४ मिलियन डलर पुरस्कार पाएको थियो।
सन् २०२२ मा महिला विश्वकप जितेको अस्ट्रेलियालाई ३.५ मिलियन डलर पुरस्कार दिइएको थियो।