वेस्ट इन्डिजविरूद्धको पहिलो टेस्टमा भारत दोस्रो दिनको खेल सकिदा बलियो स्थितिमा छ।
बिहीबार दोस्रो दिनको खेल सकिदा भारतले पहिलो इनिङ्ग्समा घरेलु टिमविरूद्ध १६२ रनको अग्रता लिएको छ। भारत २ विकेटको क्षतिमा ३१२ रन बनाएर खेलिरहेको छ।
भारतका लागि टेस्टमा डेब्यू गरेका यशस्वी जैशवाल १४३ रन बनाएर खेलिरहेका छन्। ओपनर जैशवाल भारतका लागि डेब्यू टेस्टमा शतक हिर्काउने तेस्रो खेलाडी बने।
यसअघि भारतका लागि शिखर धवन र पृथ्वी शाले पनि डेब्यू खेलमै शतक हिर्काएका थिए।
डेब्यू खेलाडीको रुपमा सबैभन्दा बढी बल सामना गर्ने अर्को रेकर्ड बनाएका जैशवालले ३५० बल खेल्दा १४ चौका हिर्काएका छन्। दोस्रो दिनको खेल सकिदा विराट कोहली पनि ३६ रन बनाएर खेलिरहेका छन्।
त्यसअघि कप्तान रोहित शर्मा १०३ रन बनाएर आउट हुँदा शुभमन गिलले ६ रन मात्र जोड्न सके।
पहिलो इनिङ्ग्समा वेस्ट इन्डिज १५० रनमै अलआउट भएको थियो। उसका लागि कोही पनि ब्याटरले अर्धशतक समेत प्रहार गर्न सकेनन्।
पहिलो इनिङ्ग्समा भारतका लागि रविचन्द्रन आस्विनले ५ विकेट लिए।