एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपाललाई युएईको ‘ए’ टिमले १५८ रनको लक्ष्य दिएको छ।
श्रीलंकाको कोलम्बोस्थित सारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १५७ रनमा अलआउट भयो।
युएईका लागि ओपनर लवप्रित सिंहले अर्धशतक प्रहार गरे। कुशल भुर्तेलको बलमा सन्दीप जोराबाट क्याच हुनुअघि उनले ८२ बलमा ५२ रन जोडे।
बलिङमा नेपालका कुशल भुर्तेलले ६ विकेट लिन सफल भए। उनले १० ओभरमा ४० रन खर्चिए। उनले लिस्ट एको खेलमा पहिलो पटक ६ विकेट लिएका हुन्।
यस्तै श्याम (मौसम) ढकालले २ विकेट लिए। उनले ९ ओभरमा ४४ रन खर्चिए। कुशल मल्ल र पवन सर्राफले १-१ विकेट लिन सफल भए।
नेपाल र युएई दुवै टिम यसअघि नै समूह चरणबाट बाहिरिएका थिए। दुवैलाई भारत र पाकिस्तानको ‘ए’ टिमले पराजित गरेका थिए।
समूहबाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगिसकेका छन्। दुवै टिम समूह विजेताका लागि आज भिड्दैछन्।