एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएईको ‘ए’ विरूद्ध नेपालका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल अर्धशतक प्रहार गरेका छन्।
कुशलले ३३ बलमा अर्धशतक पूरा गर्ने क्रममा ४ चौका र २ छक्का हिर्काए। अहिले नेपालका लागि कुशलसँगै देव खनालले ब्याटिङ गरिरहेका छन्।
१५८ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर अर्जुन साउद भने शून्यमा आउट भए। नेपालले ११ ओभरमा ७६ रन जोड्दा १ विकेट गुमाएको छ।
त्यसअघि श्रीलंकाको कोलम्बोस्थित सारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १५७ रनमा अलआउट भयो।
युएईका लागि ओपनर लवप्रित सिंहले अर्धशतक प्रहार गरे। कुशल भुर्तेलको बलमा सन्दीप जोराबाट क्याच हुनुअघि उनले ८२ बलमा ५२ रन जोडे।
बलिङमा नेपालका कुशल भुर्तेलले ६ विकेट लिन सफल भए। उनले १० ओभरमा ४० रन खर्चिए। उनले लिस्ट एको खेलमा पहिलो पटक ६ विकेट लिएका हुन्।
यस्तै श्याम (मौसम) ढकालले २ विकेट लिए। उनले ९ ओभरमा ४४ रन खर्चिए। कुशल मल्ल र पवन सर्राफले १-१ विकेट लिन सफल भए।
नेपाल र युएई दुवै टिम यसअघि नै समूह चरणबाट बाहिरिएका थिए। दुवैलाई भारत र पाकिस्तानको ‘ए’ टिमले पराजित गरेका थिए।
समूहबाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगिसकेका छन्। दुवै टिम समूह विजेताका लागि आज भिड्दैछन्।