नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशनकुमार सिंहले नेपाल क्रिकेट टिमले आइसिसी विश्वकप लिग-२ का लागि अमेरिका भ्रमण गरेको बेला अलस्टार्सको पैसामा आफू अमेरिका नघुमेको दाबी गरेका छन्।
सिंहले अलस्टार्सका लगानीकर्ता र आफू एउटै होटलमा बसेको स्वीकार गरे पनि अलस्टार्सको पैसामा आफू त्यहाँ नबसेको दाबी गरेका हुन्।
नेपाली टिमको व्यवस्थापनका लागि टिम म्यानेजर र टिम लिडर छुट्टै अमेरिका गए पनि क्यान अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष सिंह पनि अमेरिका पुगेका थिए। त्यतिबेला क्यानका असन्तुष्ट केन्द्रीय सदस्यहरूले अध्यक्ष र कोषाध्यक्षको अमेरिका भ्रमणबारे प्रश्न उठाएका थिए।
केही दिनअघि अलस्टार्सका लगानीकर्ता मध्ये वरदान चालिसेले कोषाध्यक्ष तथा अध्यक्ष अमेरिका गएको बेला होटल बसेको र घुमेको बिल अलस्टार्सले व्यहोरेको बताएका थिए। चालिसेले त्यसको प्रमाण समेत दिन सक्ने बताएका थिए।
यो पनि :- नेपाल टी-२० लिगमा लाखौं डलर गुमाएको अमेरिकाको लुम्बिनी अलस्टार्स
यद्यपी कोषाध्यक्ष सिंहले आफूले अतिथीको रुपमा सत्कार भएको बुझेको र नेपालमा अलस्टार्सका लगानीकर्ता आउदा पनि आफूले सत्कार गरेको बताए।
अध्यक्ष र कोषाध्यक्ष अमेरिका भ्रमणमा रहदा विवादित नेपाल टी-२० लिगको जिम्मा पाएका भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सका जतिन अहुवालियासँग अलस्टार्सका लगानीकर्तासँग भेट गराइएको थियो।
सो भेटपछि अलस्टार्सले नेपाल टी-२० लिगको टिममा लगानी गर्न सकारात्मक भएको थियो। यद्यपी भारतीय कम्पनीका कारण अलस्टार्सको लाखौं डलरको लगानी बालुवामा पानी हाले झैं भएको थियो।