नेपाली क्रिकेट टिमले एसिया कप २०२३ को तयारी श्रीलंकामा गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले १५ दिन श्रीलंकामा विशेष प्रशिक्षण गर्ने भएको हो।
१५ दिनको बन्द प्रशिक्षणका दौरान नेपालले चार वटा अभ्यास खेल्नेछ। अभ्यास खेल श्रीलंकाका स्थानीय टिमसँग हुनेछ।
एसिया कपको तयारीका लागि सहयोग गर्ने भएकोमा क्यानले श्रीलंका क्रिकेटलाई धन्यवाद दिएको छ।
एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। पहिलो पटक एसिया कप खेल्न लागेको नेपालको समूहमा भारत र पाकिस्तान छन्।
नेपालले समूहका दुई खेल दुई फरक फरक देशमा खेल्दैछ।
नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग खेल्नेछ।
नेपाल र पाकिस्तानबीचको खेल १३ भदौमा पाकिस्तानको मुल्तानमा हुनेछ।
नेपालले आफ्नो दोस्रो खेल भारतसँग भदौ १८ मा खेल्नेछ। यो खेल श्रीलंकामा हुनेछ।
यस्तै भारत र पाकिस्तान भदौ १६ मा श्रीलंकामा भिड्नेछन्।
एसिया कपको आयोजक पाकिस्तान भए पनि भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि खेल पाकिस्तान र श्रीलंकामा हुनेछ।
समूहमा शीर्ष दुई दुई टिम सुपर फोरमा पुग्नेछन्। सुपर फोरका शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।
अर्को समूहमा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन्।