क्रिकेटप्रति नेपालीहरूको बढ्दो क्रेजसँगै खेलाडीहरूले पनि उत्तिकै प्रगति गरेका छन्।
आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक श्रृंखलामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले 'एकपछि अर्को चमत्कार' गर्दै 'विश्वकपको ग्लोबल क्वालिफायर' मा पुग्यो।
विश्वकपमा छनोट हुन नसके पनि क्वालिफायरमा टेस्ट राष्ट्र जिम्बावे, वेष्टइन्डिज र आयरल्याण्डलाई बलियो चुनौती दिँदै आगामी यात्रा सुखद रहेको सन्देश दियो। अबको केही दिनमा एसिया कपमा बलिया राष्ट्र भारत र पाकिस्तानसँग पहिलोपटक खेल्न लागेको छ।
फुटबल र क्रिकेटमा समर्थकलाई १२ औं खेलाडी भनिन्छ। जित, हार, अभाव र खुसीमा टिमका सदस्यकै जत्ति समर्थकले पनि महसुस गर्नेछन्।
यसैबीच देशमा सुविधा सम्पन्न पूर्वाधारको अभाव हुँदाहुँदै पनि नेपाली खेलाडीले गरेको प्रगतिलाई नजिकबाट नियालेका एक समर्थकले निजी लगानीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको थालनी गरेका छन्।
हाल अस्ट्रेलियामा बसेर व्यवसाय गर्दै आएका गुल्मीका विनोद कुँवरले आफ्नो क्रिकेटप्रतिको लगावलाई रंगशाला निर्माण गरी पूरा गर्ने अठोट लिएका छन्।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मा ५ विगाहा क्षेत्रमा बन्ने एकेडेमीसहितको सुविधा सम्पन्न रंगशालाको शिलान्याससमेत भइसकेको छ।
अस्ट्रेलिया र नेपालमा पनि आइटी व्यवसाय सञ्चालन गरेका कुँवर ४० करोडभन्दा बढीको एकल लगानीमा रंगशाला बनाउन कस्सिएका हुन्।
आफ्नो कम्पनीकै नाम 'एक्ट्राटेक' बाट रंगशालाको नाम 'एक्स्ट्राटेक ओभल' राखेर ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम सुरू गरेका छन्।
२५ हजार दर्शक क्षमताको एकेडेमीसहित अन्तर्राष्ट्रिय रंगशाला बनाउने आफ्नो महत्वकांक्षी योजनाबारे साथीभाइ र आफन्तलाई सुनाउँदा कसैले पत्याएनन्।
विश्वास होस् पनि कसरी? नेपालमा सरकारी र सामूहिक लगानीबाट बन्ने भनेर घोषणा गरिएका कयौं खेलकुद पूर्वाधार अलपत्र अवस्थामा छन्।
मूलपानी क्रिकेट मैदान बनाउन सुरू गरेको दुई दशक हुन लाग्यो। सो मैदान बनाउन सुरू हुँदा नेपाली क्रिकेट टोली डिभिजन ५ मा थियो। हाम्रा खेलाडीले मुलुकलाई 'वान डे स्टाटस' दिलाइसके, टेस्ट राष्ट्रसँग खेल्ने भइसके। तर मूलपानी मैदान अझै तयार भएको छैन। क्रिकेट विकासमा हाम्रो राज्य हाम्रा खेलाडीभन्दा कति पछाडि छ भन्ने यसैले देखाउँछ।
यस्तै २०६१ सालमा निर्माण सुरू भएको रूपन्देहीकै सिद्धार्थ रंगशाला होस् वा समुदायलाई साथमा लिएर सार्वजनिक निजी साझेदारीको अवधारणामा निर्माण सुरू भएको चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवस्था नै किन नहोस् यी उदाहरणहरू जो कोही क्रिकेटप्रेमीका लागि नौला होइनन्।
तर आफूले बनाउन लागेको रंगशाला अलपत्र नहुनेमा कुँवर ढुक्क छन्।
यो पूर्वाधारका लागि उनले कसैले आशा र अपेक्षा गरेका छैनन्। पाँच वर्षमा चरणबद्ध निर्माणको योजनालाई कार्यान्वयन गर्दै लैजाने भएकाले लागत बढे पनि समयमै पूरा हुनेमा विश्वस्त छन्।
‘नेपालमा धेरै रंगशाला अलपत्र भएर मेरो यो प्रयास पनि कमैले पत्याएका छन्। मैले योजनाबारे सुरूमा साथीभाइ र परिवारका सदस्यलाई सेयर गर्दा सबैले हाँसेर उडाए, कसैले पत्याएनन्। तर, म आफ्नो योजनामा सुरूदेखि नै केन्द्रित थिएँ,’ विनोदले सेतोपाटीसँग भने, ‘यसै शिलान्यास गर्दा पत्यार नलाग्न पनि सक्छ भनेर पहिले मैदान सम्याएर मात्र शिलान्यास गरेका हौं। अबको ६-७ महिनामानै मैदानले स्वरूप पाउनेछ।’
हरेक व्यवसाय नाफाका लागि गरिने भए पनि यो रंगशालाबाट कुँवरले आम्दानीको आशा राखेका छैनन्। बरू, उत्कृष्ट खेलाडी उत्पादन होस्, उसले राष्ट्रको नाम उँचो बनाओस् उसको यात्रामा कुनै व्यवधान भोग्नुनपरोस्, यत्ति मात्र चाहन्छन्।
‘नाफाका लागि लगानी गर्ने हो भने अरू धेरै ठाउँ छन्। मैले अहिले नेपाल क्रिकेटले लिएको उचाइ र यसको क्रेज देखेर पूर्वाधार अभावलाई केही हदसम्म सहयोग गर्न रंगशाला बनाउने निर्णय गरेको हुँ,’ उनले भने, 'मैले आफ्नो क्रिकेटप्रतिको लगावलाई यहाँ प्रयोग गरेको हुँ।’
नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहँदा देशभित्रै भने क्रिकेटको गतिलो भौतिक पूर्वाधारसम्म नभएको यथार्थले कुँवरको मन नराम्ररी पोल्यो।
क्रिकेटका डाइहार्ट फ्यान उनले अब नेपालको क्रिकेटको विकास नरोकियोस् भनेर क्रिकेटको उर्भर भूमि रूपन्देहीमै सुविधा सम्पन्न क्रिकेट रंगशाला र क्षमतावान खेलाडी उत्पादन गर्ने सपना देख्न थाले।
एक त आफ्नो गृहनगर त्यसमा रूपन्देहीमै क्रिकेटको लोभलाग्दो वातावरण थियो। जिल्लाबाट उत्पादित क्रिकेटरले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समेत गतिलै चर्चा बटुलिरहेका थिए।
यहाँका राजु खड्का, राहुल बिक, सागर पुन, शक्ति गौचन, वसन्त रेग्मी, सुशन भारी, कुशल मल्ल, अमृत भट्टराई, कृष्ण कार्की, सुशन भारी, आकाश गुप्ता, सौरभ खनाल, देव खनाल, वसन्त शाही, सञ्जय गुरुङ, सत्यजित सरकार, समिर खान, जगत टमाटाजस्ता क्रिकेटरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा थुप्रै कीर्तिमान समेत बनाएका छन्।
महिला क्रिकेटमा पनि नीतु थापादेखि वर्तमान उपकप्तान इन्दु वर्मालाई रूपन्देहीले नै जन्माएको हो।
यही क्रिकेटको उर्भर भूमिमा आफ्नो करिब एक दशक लामो अष्ट्रेलिया बसाइमा कमाएको लगानीमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय रंगशाला, होस्टल, एकेडेमी र तालिम केन्द्र समेतको पूर्वाधार बनाउने भनेर जग्गाको खोजीमा लागे।
रूपन्देही मात्र होइन, आसपासका कावासोती, लुम्बिनी लगायतका क्षेत्रमा ठाउँ खोज्न थाले।
यसैबीच आफूले २ वर्षअघि घडेरीका लागि किनेको आफ्नै जग्गामा बालबालिकाले क्रिकेट खेलिरहेको तस्बिर र भिडिओ आफ्नै दाइले उनलाई पठाएर भने- रंगशाला बनाउने ठाउँ खोज्दै हिँड्थिस् त आफ्नै खेतमा बच्चाहरू क्रिकेट खेलिरहेका छन् त यही बनाए हुन्न र?
दाइको कुराले उनी खुसी हुँदै जवाफ दिए- त्यसो भए म चाँडै नेपाल आएर विचार गर्छु।
केही समयपछि नै नेपाल गए। आफ्नो जग्गामा क्रिकेट रंगशाला बनाउनेबारे शक्ति गौचनलगायत केही क्रिकेटरसँग पनि सल्लाह गरे। त्यसपछि वरिपरिका थप तीन बिगाहा जग्गा पनि लिए र यही क्षेत्रमा रंगशाला बनाउने निधो गरे।
देश विदेशका रंगशालाको अध्ययन गरे। आवश्यक पूर्वाधारको बारेमा जानकारी लिए।
'मेरो लामो समयको अध्ययनपछि थोरै खर्चमा स्तरीय रंगशाला बनाउन सकिन्छ भनेर निष्कर्षमा पुगेर यो काम थालेको हुँ। न्यूजिल्याण्डको जोन डेभिड ओभलकै जस्तो संरचना भएमा थोरै खर्चमा गर्न सकिन्छ भन्ने लागेको छ', उनले भने,'लाइट र स्कोरबोर्डबाहेक अन्यमा धेरै खर्च नहोला जस्तो छ। भैरहवामा पनि न्यूजिल्याण्डकै जस्तो रंगशाला बन्नेछ।'
उनले चार तलाको भवनसहितको रंगशालामा एकेडेमी र तालिम केन्द्र सञ्चालनको जिम्मा पूर्वक्रिकेटर शक्ति गौचनलाई दिएका छन्।
जिल्लामा स्तरीय क्रिकेट मैदान निर्माण आफ्नो पनि सपना रहेको भन्दै गौचनले आफूले पाएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने दाबी गरे।
अहिले आफैंले पनि क्रिकेट एकेडेमी चलाउँदै आएका गौचनले सधैं मैदानको अभाव खड्किँदै आएको गुनासो गरेका छन्।
‘मैले जुन सपना देखेको थिएँ, विपनामा परिणत हुँदैछ। मेरो पनि एकेडेमी छ। त्यसमा सिकाउन मात्र मिल्छ, खेलाउन मिल्दैन। सिद्धार्थ रंगशालामा प्रतियोगिता भइरहने हुँदा सिकाउने पाइँदैन। तर अब यो बनेपछि खेलाउने पाइने आशा छ,’ गौचनले भने।
‘यो रंगशाला बन्नुभन्दा अघि पनि यहाँ सानो ठाउँमा क्रिकेट खेलिन्थ्यो,’ शक्तिले मैदान देखाउँदै भने, 'अब त्यहाँ विधिपूर्वक मैदान तयार हुँदैछ र नगरकै दुर्गम क्षेत्र मानिएको पूर्वी दरखसुवामा सुविधासम्पन्न एकेडेमी बन्दैछ।'
‘एक्स्ट्राटेक ओभल’ अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी माधव पाठकले लिएका छन्।
लामो समय यूएईमा बसेका माधवसँग अवुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा समेत क्युरेटरको जिम्मेवारी निर्वाह गरिसकेको अनुभव छ ।
‘यो मैले देखेको सपना भए पनि राष्ट्रको सम्पत्ति हो। त्यसैले निर्धारित समयमै यसको निर्माण सकेर देखाउनेछु। आवश्यक परेको बेला प्रतियोगिताहरू आयोजना गर्न पनि यो रंगशालाको ढोका हरदम खुला रहने छ,’ विनोद भन्छन्, ‘यो रंगशाला मेरो निजीभन्दा पनि सम्पूर्ण जिल्लाकै सम्पत्ति हो। त्यसैले निर्माणमा सबै पक्षले आवश्यक सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ।’
रंगशालाका लागि सबै लगानी आफैं गर्ने भएकाले व्यक्तिगत स्वामित्त्वमा काम गर्न सजिलो हुने कुँवरको भनाइ छ।
‘मैले समयभन्दा अघि नै पैसा जोहो गरेँ भने तोकिएको समयभन्दा अघि नै काम पूरा गर्न सक्छु। यो विश्वास छ। सरकारी निकायमार्फत् काम गर्दा बोलपत्रदेखि विविध झन्झट हुन्छन्। मैले त लु गरौँ भन्नेबित्तिकै सुरू गर्न सकिन्छ नि,’ उनी भन्छन्, ‘सुरूमा सरकारले नै यस्ता पूर्वाधार तयार पारोस् त्यसमा धेरथोर सहयोग गरौंला भनेर बसेको थिएँ अब सरकारको मुख कति ताक्नु, मानिस पनि सरकार नै हौं भनेर आँटेका हौं।’
अहिले रूपन्देहीमा रंगशालाले आकार लिँदैछ। नेपालको ओलम्पिक, एन्फा, नगरपालिका, नेपाल क्रिकेट संघ, प्रदेश खेलकुद परिषद्लगायत खेलसंबद्ध संस्थाका प्रतिनिधि शिलान्यास कार्यक्रममा उपस्थित भएका थिए।
सरकार आफैंले गर्नुपर्ने काम कुनै व्यक्तिले गर्ने भएपछि सबैले सकेको सहयोग गर्ने बचनसमेत दिएका छन्।
कस्तो बन्ने छ रंगशाला ?
तिलोत्तमाको मणिग्रामबाट झन्डै ८ किलोमिटर दूरीमा एक्स्ट्राटेक ओभल प्रालिले बनाउँदै गरेको यो रंगशाला नेपालको पहिलो निजी क्रिकेट रंगशाला हुनेछ।
एक वर्षमै खेल्न योग्य मैदान बनाएपछि थप प्यारापिट निर्माणको कार्य अगाडि बढ्नेछ।
पहिलो वर्ष ५ हजार दर्शक क्षमताको रंगशाला बनाइने छ । मैदानमा फ्लडलाइट र डिजिटल स्कोर बोर्ड जडान पनि यहीँ क्रममा सुरू हुनेछ। प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला बनाइने छ।
एक्स्ट्राटेक ओभल क्रिकेट मैदानलाई रंगशालाको स्वरूपमा निर्माण सम्पन्न गर्दा ४० करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ।
राष्ट्रिय प्रतियोगिता होस् वा नेपालले आयोजना गर्ने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता १ वर्ष भित्रमा एक्स्ट्राटेक ओभलमा आयोजना गर्न तयार हुने उनीहरूको दाबी छ।
यो क्रिकेट रंगशालामा छात्रावाससहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुनेछ। रंगशाला परिसरमा चार तलाको भवन बन्नेछ। जहाँ १ सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइनेछ।
एक्स्ट्राटेकले पूर्वराष्ट्रिय खेलाडी शक्ति गौचनलाई ब्रान्ड एम्बास्डर बनाएर यसको जिम्मेवारी दिइएको छ।
विनोदले रंगशालाको जिम्मेवारी शक्तिलाई नै सुम्पिएका छन्।
‘सफलताको आधार भनेकै विश्वास हो। हामी नेपालकै उत्कृष्ट एकडेमी बनाउने छौं। यसको जिम्मेवारी शक्ति गौचनलाई दिएको छु। म आर्थिक पाटो हेर्छु,’ कुँवरले भने।
कुँवरका अनुसार आउँदो ६ देखि ७ महिनामा घाँस पलाउँछ र पीच बनाएर खेल्न मिल्ने हुन्छ।
उनले समयमै काम सम्पन्न गर्न विदेशमा सिकेका हुन्।
‘विदेशी भूमिमा समयमै कुनै पनि काम नसके पेनाल्टी लाग्छ। हामीले त्यो काम र अनुभव यहाँ प्रयोग गर्छौं’, उनले भने,‘हामीसँग अहिले अन्तर्राष्ट्रियस्तरका खेल हुने एउटा मात्र मैदान छ, त्रिवि क्रिकेट मैदान। त्यो मैदान पनि हामीले बनाएको होइन। जी टिभीले करिब २५ वर्षअघि बनाइदिएको हो।’
आगामी चार वर्षपछि सकिने एक दिवसीय मान्यतालाई कायम राख्न र क्रिकेटलाई अझ नयाँ उचाइ पुर्याउन पर्याप्त क्रिकेट मैदान बनाउनु जरूरी देखेर हामीले यो आँट लिएको कुँवरकी पत्नी सुदिक्षा गौतमले बताइन्।
'हालै नेपाली क्रिकेटले पाएको यो सफलतालाई बचाउन र निरन्तरता दिनका लागि मैदान एकदमै महत्वपूर्ण हुन्छ। त्रिवि मैदान मात्र हामीसँग भएको एक मात्र अन्तर्राष्ट्रिय मैदान हो। अन्तराष्ट्रिय स्तरका अन्य मैदान नहुँदा नेपालले ठूलाखाले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर गुमाउँदै आएको छ', उनले नेपालको यथार्थ औल्याउँदै भनिन्, 'नेपालमा क्रिकेटको जुन क्रेज छ, यो टेस्ट राष्ट्रकै हाराहारीमा छ। यस्तो क्रेज टेस्ट खेल्ने सबै देशसमेत छैन। हाम्रो ‘फ्यान बेस’ का कारण ठूला प्रतियोगिताहरू नेपालले आयोजना गर्न सक्छ। यसका लागि भनेर हामीले अन्तर्राष्ट्रिय मैदान बनाउन अघि सरेका हौं।'
नेपालमा पूर्वाधार निर्माणका काममा व्यापक ढिलासुस्ती हुने गरेको छ। त्यसमा पनि खेलसम्बन्धी पूर्वाधारमा त हाम्रो 'ट्रयाक रेकर्ड’ झनै निराशाजनक छ। यस्तोमा आफू फरक हुने कुँवर दाबी गर्छन्।
'रंगशाला निर्माणमा पैसाको अभाव हुन्न, अष्ट्रेलिया र नेपालमा सञ्चालित आफ्नो आइटी कम्पनीले कमाएको रकम यहाँ लगानी गर्छौं', उनले भने।
नेपाली खेलाडीले जुन स्तरको खेल खेलेर क्रिकेट यहाँसम्म ल्याइपुर्याए त्यही स्तरको खेलले अर्को उचाइमा लैजान मुश्किल छ। त्यसका लागि एकातिर अहिलेका खेलाडीले आफूलाई निखार्नु पर्छ भने अर्कातिर नयाँ प्रतीभा पनि जन्मिनु पर्छ।
अबका चार वर्षमा हामी क्रिकेटमा कति लगानी गर्छौं, कति नयाँ प्रतिभाशाली खेलाडी जन्माउन सक्छौं, त्यसैले नेपाली क्रिकेटको भविष्य निर्धारण गर्नेछ।
यसका लागि देशभर छरिएर रहेका कलिला खेलाडीलाई उचित प्रशिक्षण र खेल्न योग्य मैदानको आवश्यकता पर्छ।
अहिले हामीसँग काठमाडौंबाहिर राम्रो पिच भएको एउटा पनि मैदान छैन। क्रिकेटमा पिच एकदमै महत्वपूर्ण कुरा हो। त्यसैमा बाउन्स हुने बलमा खेलाडीले आफ्नो प्रतीभा देखाउँछन्।
यहाँनेर हामीले अफगानिस्तानको उदाहरण पछ्याउन सक्छौं। एकदिवसीय मान्यता पाएसँगै अफगानिस्तानले व्यापक लगानी गरेर हरेक प्रदेशमा क्रिकेट रंगशाला बनायो।
सुरक्षाका कारण अन्तर्राष्ट्रिय खेल हुन सक्ने स्थिति नभए पनि ती रंगाशालामा स्थानीय र प्रान्तीय प्रतियोगिता सुरू गर्यो। त्यसका कारण उनीहरूले नयाँ खेलाडी पनि जन्माए। र अफगानी राष्ट्रिय टोली झन् सबल भयो। अहिले अफगानिस्तान धेरै बलियो टोली भएर आइसकेको छ।
करियर बनाउनको लागि विदेश आएका विनोद कुँवरले रंगशाला निर्माण सुरू गर्नुअघि पनि उनले नेपाली समाजमा धेरै सहयोग गरेका छन्।
महावीर पुनमार्फत् साढे १५ लाखको सिलिन्डर कोभिडको बेलामा सहयोग गरे। त्यही बेला पत्रकार महासंघलाई पनि तीन लाख सहयोग गरे। क्रिकेट खेलाडीलाई धेरथोर सहयोग गर्दै प्रतिभा पलायन रोक्ने कोसिस गरिरहेका छन्।
मन्दिर बनाउन, आफू जन्मेको ठाउँमा हरेक वर्ष राहत बाँड्न, छरछिमेकमा सहयोग गर्न त उनलाई बानी परिसक्यो।
‘यो त समाजको लागि रह्यो। अब देशको लागि सहयोग गर्नुपर्छ भनेर मैले रंगाशाला बनाउन हौसिएको छु,’ गम्भीर भएर विनोद भन्छन्।
नेपाल सन् २०१४ को विश्वकप क्रिकेटमा छनोट भएर आउँदा टिमलाई स्वागत गर्न करिब डेढ घन्टाअघिदेखि नै राष्ट्रिय झन्डासहित विमानस्थलमा पुगेका विनोद कुँवर खेलाडीसहितको र्यालीमा दिनभर काठमाडौं परिक्रमा गरे।
‘मेरो क्रिकेटप्रतिको क्रेज नै आजको यो अवस्थाको उपज हो। एउटा मैदान बनाएर त्यसलाई मूर्त रूप दिनुबाहेक मेरो अरू कुनै स्वार्थ छैन,’ उनले भने।