भारतीय महिला क्रिकेट टिमकी कप्तान हरमनप्रीत कौरलाई शनिबार ढाकामा बंगलादेश विरुद्धको आइसिसी महिला च्याम्पियनसिप शृंखलाको तेस्रो खेलमा आइसिसीको आचारसंहिताको दुई छुट्टाछुट्टै नियम उल्लंघन गरेपछि दुई अन्तर्राष्ट्रिय खेलका लागि प्रतिबन्ध गरिएको छ।
कौरलाई उनको म्याच शूल्कको ५० प्रतिशत जरिवाना गरिएको थियो र उनको अनुशासनात्मक रेकर्डमा लेभल २ उल्लंघन गरेको भन्दै तीन डिमेरिट अंकको कारबाही गरिएको थियो।
अम्पायरको निर्णयमा उनले आक्रोस व्यक्त गरेको र पोस्ट म्याचमा पनि त्यस्तै व्यवहार देखाएपछि कारबाही गरिएको थियो।
घटना भारतको इनिङ्सको ३४ औं ओभरमा भएको थियो। उनले आफू क्याच आउट नभएको भन्दै अम्पायरको निर्णयमा आक्रोश व्यक्त गरेकी थिइन्। खेल लगत्तै उनले अम्पायरको आलोचना गरेकी थिइन्।
कौरले आफ्नो गल्ती स्वीकार गरेकी छिन्। आइसिसी इन्टरनेशनल प्यानल अफ म्याच रेफ्रीका अख्तर अहमदले प्रस्ताव गरेको प्रतिबन्धलाई उनले स्वीकार गरेकी छिन्।
मैदानका अम्पायर तनवीर अहमद र मोहम्मद कमरुज्जमान, थर्ड अम्पायर मोनिरुज्जमान र अम्पायर अली अरमानले कौरबारे रिपोर्ट गरेका थिए।