आइसिसी पुरुष टी-२० विश्वकप २०२४ एसिया क्षेत्रीय छनोट 'बी' को उद्घाटन दिन बुधबार मलेसियाका तीव्र गतिका बलर स्याजरुल इजात इद्रुसले इतिहास रचेका छन्।
उनले पुरुष टी-२० अन्तर्राष्ट्रियमा पहिलोपटक सात विकेट लिएर विश्व कीर्तिमान बनाएका हुन्।
बायुमास ओभलमा मलेसियाले चीनलाई ८ विकेटले पराजित गरेको खेलमा उनले ४ ओभरमा ७ विकेट लिँदा १ मेडन राखे भने ८ रन मत्र खर्चिए। उनले ७ विकेट सबै बोल्ड गर्दै लिएका थिए।
भारतका दीपक चाहर र युजवेन्द्र चहल, अष्ट्रेलियाका अस्टन आगर, श्रीलंकाका अजन्था मेन्डिस लगायत गरी पुरुष टी-२० मा १२ बलरले यसअघि एकै खेलमा ६ विकेट लिएका थिए। तर सात विकेटको रेकर्ड अहिलेसम्म कसैले बनाउन सकेको थिएनन्।
इद्रुस एक्लैले चीनियाँ ब्याटिङ लाइन अप ध्वस्त पार्ने क्रममा सुरुवाती ७ मध्ये ६ ब्याटरलाई सिकार बनाए। जसका कारण चीन ११.२ ओभरमा २३ रनमै अलआउट भएको थियो। चीनका ६ ब्याट्सम्यानले त खाता नै खोल्न सकेनन्।
४.५ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको मलेसियाले उत्कृष्ट सुरुवात गरेको छ।
चीन र मलेसियासँगै भुटान, म्यानमार तथा थाइल्यान्ड गरी पाँच टिम सहभागी प्रतियोगिताको विजेता नोभेम्बरमा नेपालमा हुने एसिया क्षेत्रीय फाइनलमा पुग्नेछ। नेपालमा हुने एसिया क्षेत्रीय छनोटबाट दुई टिम २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा पुग्नेछन्।