आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत युरोप छनोटमा जर्मनीविरूद्धको खेल वर्षाले रद्द भएसँगै आयरल्यान्डले एक वर्षपछि हुने विश्वकपमा स्थान पक्का गरेको छ।
युरोपबाट छनोट हुने दुई टिम मध्ये आयरल्यान्ड विश्वकपमा स्थान बनाउने पहिलो टिम भएको हो।
आयरल्यान्ड अहिले प्रतियोगिताभर अपराजित छ। यसअघि उसले इटाली, डेनमार्क, अस्ट्रिया, र जर्सीविरुद्ध जित दर्ता गरेको थियो।
घरेलु टिम स्कटल्यान्डविरुद्धको खेल बाँकी रहदै आयरल्यान्ड विश्वकपमा छनोट भएको हो।
एकदिवसीय विश्वकप २०२३ मा स्थान बनाउन नसकेको टेस्ट टिम आयरल्यान्डले टी-२० विश्वकप छनोटमा उत्कृष्ट पुनरागमन गरेको हो।
युरोपबाट छनोट हुने एक टिमको तय हुनअझै बाँकी छ। जहाँ स्कटल्यान्ड छनोट हुने लगभग पक्का जस्तै छ। अहिलेको समिकरणमा स्कटल्यान्डलाई दुई खेल बाँकी रहदा केवल एक अंकको खाँचो छ।
आइसिसीले विश्व छनोट हटाएर सन् २०२४ को टी-२० विश्वकपका लागि क्षेत्रीय छनोटबाट टिम छनोट गर्ने नियम लागू गरेको छ
जसअन्तर्गत अहिले युरोप छनोटसँगै एसियाको पहिलो चरणको छनोट र इस्ट एसिया प्यासेफिकको पनि छनोट भइरहेको छ।
एसियाको अन्तिम छनोट आगामी नोभेम्बरमा नेपालमा हुँदैछ। जहाँ आठ टिमले भाग लिँदैछन्। आठ टिम मध्ये शीर्ष दुईमा पर्न सके नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा पुग्नेछ।
टी-२० विश्वकप २०२४ मा २० टिम
अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्दैछन्।
पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी-२० विश्वकपमा पहिलोपटक २० टिमले सहभागिता जाउँदैछन्।
२०२४ को टी-२० विश्वकपमा १२ टिम सिधै छनोट भएका छन् भने ८ टिमले क्षेत्रीय छनोट चरण पार गर्नुपर्नेछ।
गत वर्षको अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा भएको टी-२० विश्वकपको शीर्ष आठ टिम २०२४ को विश्वकपका लागि सिधा छनोट भइसकेका छन्। जसमा अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले शीर्ष आठमा परेर २०२४ को विश्वकपका लागि स्थान पक्का गरिसककेका छन्।
अमेरिका र वेस्ट इन्डिज आयोजकको हैसियतमा छनोट भइसकेका छन्। अमेरिकाले पहिलो टी-२० विश्वकप खेल्दैछ।
१४ नोभेम्बर २०२२ सम्मको विश्व वरीयतालाई अर्को छनोटको आधार मानिएको थियो। जसबाट अफगानिस्तान र बंगलादेशले टी-२० विश्वकपमा स्थान बनाइसकेका छन्।
सिधा छनोट भएका टिम
टी-२० विश्वकप २०२२ को शीर्ष ८ टिम (अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका) आयोजक अमेरिका र वेस्ट इन्डिज गरी २ टिम
आइसिसी विश्व वरीयताका २ टिम (अफगानिस्तान र बंगलादेश)
जम्मा १२ टिम
क्षेत्रीय छनोटबाट
अफ्रिका – २ टिम
अमेरिका – १ टिम
एसिया – २ टिम
इस्ट एसिया प्यासेफिक – १ टिम
युरोप - २ टिम (आयरल्यान्ड छनोट)
जम्मा – ८ टिम
एसिया छनोट
एसियाको अन्तिम छनोटमा नेपालले स्थान बनाइसकेको छ। अन्तिम छनोटमा नेपालसँगै युएई, ओमान, हङकङ, सिंगापुर र बहराइन अन्तिम छनोटमा पुगिसकेका छन्।
अहिले प्रारम्भिक छनोटबाट दुई टिम एसिया छनोटको अन्तिम चरणमा स्थान बनाउन प्रतिस्पर्धा गरिरहेका छन्।
एसियाको पहिलो चरणको समूह ‘ए’ मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया छन् भने समूह ‘बी’ मा भुटान, चीन, मलेसिया, म्यानमार र थाइल्यान्ड छन्। दुवै समूहको शीर्ष टिम एसिया छनोटमा पुग्नेछन्।
एसिया छनोटका शीर्ष दुई टिम विश्वकपमा
बहराइन, नेपाल, ओमान, हङकङ, सिंगापुर, युएई, छनोट ए विजेता, छनोट बी विजेता – दुई टिम टी-२० विश्वकप २०२४ मा पुग्ने।
एसियाको अन्तिम चरणको छनोट नोभेम्बरमा नेपालमा हुनेछ। यसपटकदेखि क्षेत्रीय छनोटबाटै टी-२० विश्वकपका लागि सिधा छनोट हुने प्रावधानसँगै नेपालले एसिया छनोट खेल्न लागेको हो। यो छनोटको शीर्ष दुईमा पर्ने टिम अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनेछन्।