प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले लगातार दोस्रो खेलमा जित निकालेको छ।
सोमबार मुलपानी मैदानमा भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्यो। कोशी भने लगातार दोस्रो खेलमा पराजित भयो।
कोशीले दिएको १३६ रनको सामान्य लक्ष्य एपिएफले १९.१ ओभरमै ४ विकेट गुमाएर पार गर्यो। एपिएफको जितका कप्तान रोहित पौडेलले ८० रन जोडे। उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।
त्यसअघि एपिएफले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कोशी ४४.३ ओभरमा १३५ रनमै अलआउट भयो।
उसका लागि फिर्दोस अन्सारीले ५५ रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भए।
बलिङमा एपिएफका अभिनास बोहरा र रोहित पौडेलले ३-३ विकेट लिए। अमरसिंह रटेउलाले २ विकेट लिन सफल भए।