प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कप्तान विनोद भण्डारीले शतक प्रहार गरेपछि त्रिभुवन आर्मी क्लबले उत्कृष्ट जित दर्ता गराएको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा आर्मीले मधेश प्रदेशलाई १२६ रनले पराजित गर्यो।
आर्मीले दिएको ३२१ रनको लक्ष्य पछ्याएको मधेश ४८.४ ओभरमा १९४ रनमा अलआउट भयो।
मधेशका लागि पवन सर्राफले ६५ रन जोडे। उनले ८३ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।
बलिङमा आर्मीका सहाब अलाम ४ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दा ३७ रन दिए। सोमपाल कामीले २ विकेट लिए भने जितेन्द्र मुखिया र कुशल मल्लले १-१ विकेट हात पारे।
त्यसअघि टस जितेको मधेश प्रदेशले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मी ५० ओभरमा ३२० रनमा अलआउट भयो।
आर्मीका लागि कप्तान विनोद भण्डारीले शतक प्रहार गरे। उनले ११३ रन जोड्ने क्रममा ९३ बलमा ९ चौका र ६ छक्का प्रहार गरे।
जारी प्रतियोगिताको तेस्रो शतक हो। यसअघि पहिलो दिन नेपाल पुलिस क्लबका रशिद खान र दोस्रो दिन नेपाल एपिएफ क्लबका सन्दीप जोराले शतक प्रहार गरेका थिए। दुवैले बागमतीविरुद्ध शतक प्रहार गरेका थिए।
विनोदले शतक प्रहार गर्नुअघि भने आर्मीले लगातार विकेट गुमाएको थियो। ओपनर इमरान शेख २६ रन, भीम सार्की १८ रन, सन्तोष कार्की ४२ रन र सन्दीप रजाली शून्यमा आउट भएका थिए।
यस्तै कुशल मल्ल ३७ रन जोडेर आउट भए। अन्तिम समयमा आक्रामक ब्याटिङ गरेका आर्मीको लागि विवेक यादवले ३० बलमा ३७ रन, बासिर अहमदले ११ बलमा १६ रन जोडेका थिए।
बलिङमा मधेशका रन्जित कुमारले ५ विकेट लिए। उनले ९ ओभरमा ४१ रन खर्चिए।