कोशी प्रदेशका सुजन थपलियाले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल पुलिस क्लबविरूद्ध थपलियाले १०५ रन प्रहार गरेका हुन्। उनले १२६ बल खेल्दा ६ चौका र ८ छक्का प्रहार गरे। उनले राष्ट्रिय प्रतियोगितामा आफ्नो पहिलो शतक प्रहार गरेका हुन्।
प्रधानमन्त्री कपमा यो चौथो शतक हो। यसअघि लगातार तीन दिन शतक प्रहार भएको थियो। पहिलो दिन नेपाल पुलिस क्लबका रशिद खान, दोस्रो दिन नेपाल एपिएफ क्लबका सन्दीप जोरा र तेस्रो दिन त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले शतक प्रहार गरेका थिए।
थपलियाले शतक प्रहार गरे पनि टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४८.२ ओभरमा १६६ रनमै अलआउट भयो।
थपलियाबाहेक अंकित सुवेदीले १० रन र अभ्यान्स तिमिल्सिनाले २३ रन जोडे। कोशीका अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा नेपाल पुलिस क्लबका करण केसीले ३ विकेट लिए। उनले ९.२ ओभरमा २८ रन खर्चिए। ललित राजवंशी र सुनिल धमलाले २-२ विकेट लिए। रशिद खान, सागर ढकाल र कुशल भुर्तेलले १-१ विकेट हात पारे।