भारतले अफगानिस्तान विरूद्धको टी-२० सिरिजमा क्लिनस्विप गरेको छ।
बुधबार बेंगलुरूमा भएको सिरिजको तेस्रो खेलमा दोस्रो सुपर ओभरमा जित निकाल्दै भारतले सिरिज क्लिनस्विप गरेको हो।
पहिलो सुपरओभर समेत बराबरी भएपछि रोमाञ्चक मोडमा पुगेको खेलमा भारतले दोस्रो सुपरओभरमा जित निकाल्यो।
भारतले ४ विकेट गुमाएर २१२ बनाएको खेलमा अफगानिस्तानले पनि ६ विकेट गुमाएर २१२ रन जोडेपछि सुपर ओभरमा पुगेको थियो।
पहिलो सुपरओभरमा अफगानिस्तानले १६ रन बनाएर १७ रनको लक्ष्य पछ्याएको भारतले पनि १६ रन नै बनाएपछि दोस्रो सुपरओभर खेलाइएको थियो।
दोस्रो सुरपरओभरको पहिलो बलमा रोहित शर्माले छक्का र दोस्रो बलमा चौका प्रहार गरे। तेस्रो बलमा एक रन लिएर रिंकु सिंहलाई स्ट्राइक दिए। चौथो बलमा फरिद अहमदबाट रिंकु सिंह आउट भएका थिए। त्यसपछिसन्जु सामसन पनि लगत्तै आउट भएपछि भारतले ११ रन बनाएको थियो।
१२ रनको लक्ष्य पछ्याएको अफगानिस्ताले पहिलो बलमा विकेट गुमायो। मोहम्मद नाभी रवि बिस्नोईबाट आउट हुन पुगे। उनको स्थानमा करिम जानतले दोस्रो बलमा एक रन लिएर रमनुल्लाह गुर्बाजलाई स्ट्राइक दिए। बिस्नोईले गुर्बाजलाई तेस्रो बलमा पेभेलियन फर्काए।
त्यसपछि रन नबनेपछि भारतले दोस्रो सुपरओभरमा जित निकालेर सिरिज ३-० ले कब्जा गर्यो।
उक्त खेलमा भारतका रोहित शर्मा सर्वाधिक टी-२० अन्तर्राष्ट्रिय शतक बनाउने खेलाडी बने । हिजोको खेलमा उनले नटआउट १२१ रन बनाएका थिए।
टी-२० अन्तर्राष्ट्रियमा भारतकै सूर्यकुमार यादव र अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले ४-४ शतक प्रहार गरेका छन्।