प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई ५ विकेटले पराजित गरेको छ।
जारी प्रतियोगितामा मधेसको यो दोस्रो जित हो भने एपिएफको पहिलो हार हो।
एपिएफले दिएको २४७ रनको लक्ष्य ५ विकेटको क्षतिमा ४८ ओभरमा पूरा गर्दै जित निकालेको हो।
मधेसको जितमा मध्यक्रमका ब्याट्सम्यानत्रय पवन सर्राफ, निरज यादव र रुपेश सिंहले अर्धशतक प्रहार गरे।
सर्राफले ६४ रन र निरजले ५२ रन बनाए। रुपेशले नटआउट ७२ रन जोडे। उनले ७२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
बलिङमा एपिएफका रुपेश कुर्मी र कप्तान रोहित पौडेलले २-२ विकेट लिए।
त्यसअघि टस जितेको मधेसले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफले ९ विकेट क्षतिमा २४६ रन बनायो।
एपिएफका लागि आसिफ शेखले ५९ रन र रोहित पौडेलले ५८ रन जोडे। अमरसिंह रटेउलाले नटआउट ४९ रन जोडे।
बलिङमा मधेसका रुपेश सिंह र प्रदीप पासवानले ३-३ विकेट लिए। यस्तै रंजित कुमारले २ विकेट लिए।